काठमाडौ । तिहार उज्यालेको पर्व हो । पछिल्लो समय घरलाई झिलिमिलि बनाउँने चलन बढीरहेको छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती र विद्युतीय झिलिमिली बत्तीको प्रयोगले तिहारलाई अझ विशेष बनाउने गरेको छ । यहि घर सजाउँने झिलिमिलि विद्युतीय बत्तिको मूल्य नबढ्ने भएको छ । यस पटक घर सजाउँनका लागि प्रयोग हुने झिलिमिलि बत्तिको मूल्य नबढेको बरु घटाएर व्यापारिहरुले स्टक क्लियरेन्स गरिरहेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । महासंघले गत वर्षकै ४० प्रतिशत बत्ति स्टक भएकाले कम मुल्यमै भएपनि सो बत्ति सक्काउने दाउँमा व्यापारीहरु रहेको बताएको छ ।
महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले बत्तिको मूल्य घट्न सक्ने बाणिज्य पोष्टलाई बताए । उनले भने, ‘अहिले युवा जनशक्ति विदेशीएका छन् । नयाँ भवनहरु बनेका छैनन । यसले पनि बत्तिको माग छैन । पोहोरकै बत्ति स्टक राखेका व्यापारीहरु यो साल आएको बत्ति पनि स्टक रहने डरले मूल्य घटाएरै बेचिरहेका छन् ।’ एक पटक झिलिमिलि बत्ति किनेपछि ४/५ वर्षसम्म सोही बत्तिले काम गर्छ । महासंघका अनुसार गत वर्ष ४५ करोड रुपैयाँ बराबरको झिलिमिलि बत्ति आयात भएको थियो । उक्त बत्तिमा ६० प्रतिशत बिक्रि भएर ४० प्रतिशत बाँकी रहेको थियो । यस पटक पनि हालसम्म २५ करोडको बत्ति आयात भइसकेको छ । सोमबारबाट केरुङ नाका खुलेकाले यो पटक तिहार लक्षित झिलिमिलि बत्ति ३५ करोड रुपैयाँ सम्मको आयात हुन सक्ने अनुमान महासंघले गरेको छ ।
महासंघका अनुसार सय लाइट एक मालाको २ सय ५० रुपैयाँ, दियो बत्तिको २ सय रुपैयाँ, बत्ति बल्ने लक्ष्मीको फोटो (सानो) को ४ सय रुपैयाँसम्ममा बिक्रि भइरहेको छ । गत वर्ष पनि यहि मूल्य कायम थियो । नेपालमा ९५ प्रतिशत झिलिमिलि बत्ति चिनबाट आयात हुन्छ भने ५ प्रतिशत मात्र भारतबाट आयात हुने महासंघले जनाएको छ । तिहार लक्षित विद्युतीय बत्तीको मूल्य यस पटक नबढ्ने बताएका छन् ।
स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर, दियो, लक्ष्मी गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्यधिक हुने गर्छ । लक्ष्मी, गणेश लगायत देवताको बल्ने सानो फोटोको मूल्य ३ सय र ठूलो साइजको ११ सय रुपैयाँसम्म छ ।केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरुको प्रयोग गर्ने प्रचलन बढेको छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउनको लागि झिलिमिली बत्तीको प्रयोग हुने गर्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !