काठमाडौ । तिहार नजिकिएसँगै भाइमसलाको मूल्य ह्वात्तै बढेको छ । भाइमसलाको मूल्य १० देखि ३० प्रतिशतसम्म बढेको खुद्रा व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष पवित्रा बज्राचार्यले भाइमसलाको मूल्य बढेर आएको बताए । भाइमसलाको माग बढेसँगै मूल्य पनि बढेको उनको भनाइ छ । १ हजार ७ सय प्रतिकेजी पाइने काजुको मूल्य बढेर अहिले २ हजार २ सय रुपैयाँ सम्म पुगेको छ । काजु एक केजीमै ५ सय रुपैयाँसम्मले बढेको छ । यस्तै १ हजार ३ सय प्रतिकेजीमा पाइने मधेसी बदाम पनि बढेर १ हजार ७ सय रुपैयाँ पुगेको छ । मधेसी बदाम केजीमा ४ सय रुपैयाँले बढेको हो । यता ४ सय ५० रुपैयाँमा पाइने ओखर बढेर ६ सय रुपैयाँ सम्म पुगेको छ । पहिला १ हजार ८ सय प्रतिकेजी रुपैयाँसम्म पाइने अन्जिर पनि बढेर २ हजार २ सय रुपैयाँसम्म पुगेको अध्यक्ष बज्राचार्यले भने । यस्तै पेस्ताको मूल्य भने बढेको छैन । यो अहिले प्रतिकेजी २ हजार २ सय रुपैयाँसम्म बिक्रि भइरहेको छ । यस अघि पनि यसको मूल्य सोही थियो । ४ सय ५० रुपैयाँ प्रतिकेजीमा पाइने किसमिस पनि बढेर ६ सय ५० रुपैयाँ पुगेको छ । व्यवसायीहरु दशैमा भन्दा तिहारमा राम्रो व्यापार भएको बताइरहेका छन् ।
दशैमा काठमाडौ छाड्नेहरु धेरै हुने र तिहारमा त्यस्तो नहुने भएकाले पनि यतिबेला व्यापार बढी हुने बज्राचार्यले बताए अर्का व्यापारी बसन्त श्रेष्ठले पनि भाइमसलाको मूल्य बढेर आएको बताए । ५ सय ५० रुपैयाँ प्रतिकेजी नरिवल पाइने भएपनि अहिले बढेर ७ सय सम्म पुगेको छ । यस्तै मिश्रीको मूल्य भने यथावत रहेको छ । ढिके मिश्री प्रतिकेजी १८० रुपैयाँसम्म पाइने व्यापारी श्रेष्ठले बताए । यस्तै प्रतिकेजी १ हजार ८ सय सम्म पाइने ल्वाङ बढेर २ हजार २ सय रुपैयाँसम्म पुगेको छ । २ हजार ७ सय देखि ३ हजार ५ सय सम्ममा पाइने सुकुमेल अहिले ३ हजार ५ सय देखि ४ हजार ३ सय रुपैयाँ सम्म पुगेको छ ।
भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि भाइमसला स्वरुप नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पेस्ता दिने चलन छ । यसपटक भाइटिका कात्तिक १८ गते रहेको छ । भोलीबाट (बुधबार) शुरु हुने तिहारका लागि आम उपभोक्ताले सामानहरु जोहो गरिरहेका छन् । भाइटिकाका लागि चाहिने भाइमसला खरिद गर्न उपभोक्ताहरुको प्रमुख व्यापारिक केन्द्रहरुमा भिड लागेको छ । यो बेला भाइमसलाको व्यापार धेरै हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (२०८१÷८२) को तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ । गत वर्ष सोही तिन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको भाइमसला आयात भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !