काठमाडौ । सुदेश खालिङले कार्यकारी भुमिका (सिइओ) निभाएको एभरेष्ट बैंकले नाफामा छलाङ मारेको छ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको यो अवधिको भन्दा ४४.४४ प्रतिशतले बढी हो । गत वर्ष बैंकको नाफा अर्ब भन्दा कम थियो । अर्थात बैंकले ७८ करोड ७ लाख रुपैयाँमात्र नाफा गरेको थियो । ब्याजदर घटेर अन्य बैंकको ब्याज आम्दानीमा पनि गिरावट आउँदा एभरेष्टको भने यस्तो आम्दानी बढेको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी १३.०९ प्रतिशतले बढेर २ अर्ब १३ करोड ९० लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ मात्र थियो । सञ्चालन नाफा ४४.४९ प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रहेको छ । यसले बैंकको लाभांश वितरण क्षमता अझै राम्रो भएको देखाउँछ । खालिङले नेतृत्व गरेयता बैंकको वित्तिय सुचकमा पनि सुधार भएको देखिन्छ । कार्यकालको अन्तिम वर्षमा रहेको सिइओ खालिङले यो त्रैमासमा राम्रै मेहनत गरेको बैंकको वित्तिय सुचकमा देखिन्छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज ४२ करोड ९५ लाखबाट घटेर १० करोड ६७ लाख रुपैयाँ कायम भएको छ । यो चार्ज घट्दा नाफामा सुधार देखिएको हो । १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्टको जगेडा कोषमा १३ अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ३४.८५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा रहेको छ । खराब कर्जा पनि ०.७७ मा सिमित भएको छ । यसले बैंकको कर्जा असुली राम्रो रहेको देखाउँछ । बैंकले लागत पनि घटाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !