काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बालबालिकालाई लक्षित गरी ‘ग्लोबल जुनियर एप’ सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच बैंकले बैंकले एप सार्वजनिक गरेको हो ।
बालबालिकामा वित्तीय र डिजिटल साक्षरता जगाउने अभिप्रायले एप सार्वजनिक गरिएको बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेलले बताए । उनका अनुसार ‘ग्लोबल जुनियर एप’ले अभिभावकको नियन्त्रणमा रहने गरी बालबालिकालाई बैंकिङ्ग गतिविधिमा जोड्नेछ । बालबालिकाले सिकाई,कमाई,बचत र खर्च गर्ने तरिका सिकुन भन्ने मूख्य उद्देश्य यो एपको रहेको छ ।
बैंकमा खाता भएका अभिभावकको नियन्त्रण रहने गरी तयार पारिएको यो एपमा अभिभावकले खाता खोल्नदेखि बालबालिकालाई बैंकिङ्ग गतिविधिमा जोड्न सक्नेछन् । एप सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले बालबालिकालाई पनि प्रविधिसँग अभ्यस्त बनाउँदै बैंकिङ्ग गतिविधिमा जोड्न यो एप सहयोगी हुने बताए । ‘‘आगामी दिनमा बैंकले यो एपमा माग भए बमोजिम थप फिचर थप्दै लैजानेछौँ,’’उनले भने ।
के छन् एपका विशेषता ?
‘ग्लोबल जुनियर एप’१२ देखि १७ वर्ष उमेर पुगेका बालबालिकाको जन्म मिति खुल्ने कागजका आधारमा अभिभावकले आफ्नो खातासँग कनेक्ट गरेर खोल्न सक्ने छन् । एपस्टोरमा गएर
‘ग्लोबल जुनियर एप’डाउनलोड गरी आफ्नो छोराछोरीको मोबाइल नम्वरसँग लिंक गरी खाता खोल्न सकिन्छ । खाता खोलेपछि अभिभावकले आफ्नो बच्चाको लागि यो एपमा ५ हजार देखि १०हजार सम्मको लिमिटमा रकम जम्मा गरिदिन सक्नेछन् ।
बालबालिकालाई चाहिने दैनिक ससाना खर्च नगदको साटो डिजिटल माध्यमबाट भुक्तानी गर्न र प्राप्त गर्न सिकुन् भन्ने यो एपको उद्देश्य हो । साथै बालबालिकाहरुले यो एपमा रकम प्राप्त गर्न र खर्च गर्न दुवै अवस्थामा अभिभावकको अनुमति चाहिने गरी यो एप बनाइएको छ जसले गर्दा बालबालिकाको खातामा भएको रकम दुरुपयोग हुन पाउँदैन । यो एपबाट बालबालिकाले आफ्ना अभिभावकले निर्दिष्ट गरेअनुसारका बैंकिङ्ग गतिविधि मात्र गर्न सक्नेछन् ।
बालबालिका थप प्रोत्साहित गर्न बैंकले ‘ग्लोबल जुनियर एप’ प्रयोग गर्दा एपमा रहने रकममा ब्याज दिने व्यवस्था पनि मिलाएको छ । बालबालिका लक्षित यो खाता बालबच्चा १७ वर्ष पुरा भएर १८ वर्ष पुगेसँगै अटोमेटिक डिएक्टिभेट हुने र सोही खाताकै आधारमा बालिग खाता खोल्ने गरी प्रणाली मिलाइएको बैंकले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !