काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर १५स्थित जोडोल टोल सुधार समाज महिला उपसमितिको आयोजना र अन्नपूर्ण विद्या सदनको संयोजनमा तीज विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा तीज शुभकामना आदानप्रदानका साथै सामाजिक सेवामा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा कामनपा वडा नम्वर १५ की जनप्रतिनिधी मैया महर्जन, डीएसपी पूर्णिमा चन्द, समाजसेवी भुवनप्रसाद पाण्डे, समाजसेवी नारायणप्रसाद भण्डारीलाई सम्मान तथा कदरपत्र वितरण गरिएको थियो । पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य उद्धव थापा मूख्य अतिथि रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिको भूमिकामा बागमती प्रदेश सभा सदस्य संहिता खड्गी, वडाअध्यक्ष ईश्वरमान डंगोल रहेका थिए ।
महिला तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिती रहेको जो डोल टोल सुधार समाज तीज विशेष सांस्कृतिक कार्यक्रममा मौलिक तीज गीतमा नृत्य प्रस्तुतीका साथै दर खाने कार्यक्रम गरिएको थियो । कार्यक्रममा वक्ताहरुले तीज भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमकी मूख्य संयोजक समाजसेवी लक्ष्मी पाण्डेले तीजको मौलिकता जोगाउन र तडकभडक शैलीलाई निरुत्साहित गर्नपर्नेमा जोड दिएकी थिइन् भने नेपाली कांग्रेसकी क्रियाशील सदस्य एवं बागमती प्रदेश ख-८की कोषाध्यक्ष्य सुमित्रा अर्यालले तीज महिला दिदीबहिनीको स्वतन्त्रता र सद्भाव बाँड्ने पर्वका रुपमा मानिने भएकाले गलत संस्कृतिको विरोध गर्दै हार्दिकता साटासाट गर्न आग्रह गरेकी थिइन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !