काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक मात्र जिवित पाइलटको स्वास्थ्यमा सुधार देखिएको छ । दुर्घटनामा घाइते भएर उद्धार गरिएका पाइलट मनिष शाक्य ८ दिनपछि अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
साउन ९ गते, बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएपछि शाक्यलाई प्रहरीले उद्धार गरेर सिनामंगलको शिक्षण अस्पताल लगिएको थियो । त्यसयता, उपचारपछि अवस्था सामान्य भएको भन्दै अस्पतालले उनलाई आज डिस्चार्ज दिएको हो ।
अस्पतालकी निर्देशक डा। मिना थापाका अनुसार क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार आइरहेको छ । थापाले भनिन्, ‘उहाँलाई छिट्टै डिस्चार्ज गर्ने तयारी गरिरहेका छौँ । घरमा पनि उहाँको उपचारलाई निरन्तरता दिन्छौँ । अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था छैन ।’
उनले थपिन्, ‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ । तर तत्कालै काममा फर्किन सक्ने अवस्था भने छैन ।’
यद्धपी दुर्घटनाका विषयमा भने क्याप्टेन शाक्यले मुख नखोल्ने भएका छन्। डा.थापाले पनि क्याप्टेनसँग यस बारेमा धेरै कुरा नगरेको बताएकी छिन् ।
खासगरी, बिहीबार अस्पतालले क्याप्टेन शाक्य र पत्रकारहरूको भेटघाट गर्ने तयारी रहेको भएतापनि नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा उक्त कार्यक्रम रद्ध गरिएको छ । दुर्घटनाको विषयमा छानबिन समिति बनेको छ र उक्त समितिको प्रतिवेदन नआएसम्म प्राधिकरणले शाक्यलाई बोल्न रोक लगाएको हो ।
सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !