काठमाडौँ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते राष्ट्रिय कृषक दिवस मनाइन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान पनि गर्ने गरिएको छ ।
तर श्रम बगाएर पनि खुशी हुने किसानहरु यतिखेर आन्दोलित भएका छन् । आफूले बेचेको दुधको भुक्तानी पाउनु पर्ने मागसहित उनीहरु आन्दोलित भएका हुन् । चितवन,काभ्रे,धादिङ,नुवाकोट लगायतका किसानहरु आज बिहानैदेखि दुधका क्यानहरु लाइनमा राखेर विरोध गर्न बाध्य भए ।
काभ्रेको मण्डनदेउपुरका सयौं किसानहरुले बिहानैदेखि कुन्तावेसीको सडकमा दुधका क्यानहरु लाइनमा राखेर विरोध जनाएका हुन् ।यहाँका किसानहरुले विगत एक वर्षदेखि नियमितरुपमा दुधको भुक्तानी पाउन सकेका छैनन् । पटकपटक दुग्ध विकास संस्थान, कृषि मन्त्रालय लगायतका निकायमा माग पूरा गराउन धाउँदै आइरहेका किसानहरुले पछिल्लोपटक ५ महिनायता दुध बेचेको पैसा पाएका छैनन् ।
तत्कालिन कृषिमन्त्री वेदुराम भुषालले गत पुस महिनामा चैतमै किसानले सबै पैसा पाउने बताएका थिए । त्यतिबेला सरकारले किसानको दुधको भुक्तानीका लागि ३० करोड रुपैयाँ दुग्ध विकास संस्थानलाई उपलब्ध गराएको थियो । तर त्यो पैसा वालुवामा पानी हालेजतिकै भएको छ । किनकी यतिबेला देशभरका किसानहरुको करिब ६ अर्बभन्दा बढी भुक्तानी गर्नु पर्नेछ ।
दुधजन्य वस्तुहरुको विक्री नहुँदा करिब ३ अर्बका दुधजन्य पद्धार्थहरुको स्टक बाँकी रहेको संस्थानले जनाउँदै आएको छ । तर किसानहरु भने अब गाईवस्तु पाल्न सकिने अवस्था पनि नरहेको बताउँछन् । सरकारले आफ्ना समस्याहरुको सम्बोधन गर्नुको सट्टा थप समस्या थप्दै गएकाले आन्दोलन गर्नु परेको सम्बन्धित किसानहरुले बताए । दुधको भुक्तानी तत्काल पाउनु पर्ने अन्यथा आन्दोलनका थप कार्यक्रम अघि बढाइने उनीहरुले बताए ।
नेपाल कृषि प्रधान देश भए पनि दुध र अन्य खाद्यान्न आयात गरेर माग धान्नुपर्ने अवस्था छ । उता युवाशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् । किसानले समयमै मलबीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच, कृषि प्राविधिक पर्याप्त नहुनु, उत्पादन भएको उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्या भोग्दै आएका छन् ।
सरकारले २०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशकसमेत घोषणा गरेको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । देशको अर्थतन्त्रमा झन्डै २५ प्रतिशत योगदान दिने कृषिक्षेत्रलाई प्रोत्साहन गर्न लगानी दशक घोषणा गर्नुलाई कृषि विज्ञले सकारात्मक नै मानेका छन् । तर किसानले भोग्दै आएका विगतदेखिकै समस्यालाई पहिले सम्बोधन गर्नुपर्नेमा उनीहरुको जोड छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !