जनकपुरधाम । धनुषाको ढल्केबरमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले आफ्नो निजी घर बनाउन गणकै प्रहरी र गाडी प्रयोग गरेको भेटिएको छ ।
मिथिला नगरपालिका–१० लालगढमा एसपी कार्कीले आफ्नो घर बनाउँदै छन् । तर त्यहाँ उनले मजदुरका रूपमा गणकै प्रहरी कर्मचारी र निर्माण सामग्री ढुवानी गर्न गणकै गाडी प्रयोग गरेको पाइएको हो ।
निर्माण सामग्री घामपानीले नबिग्रुन् भनेर घर बनिरहेकै छेउमा टेन्ट बनाएर त्यहाँ राखिएको छ । त्यो टेन्ट पनि गणकै सामग्री प्रयोग गरी बनाइएको खुलेको छ ।
स्रोतका अनुसार एसपी कार्कीले दैनिक ६ देखि ८ जनालाई बिहान र साँझ गरी ८ घन्टा आफ्नो घर बनाउने काममा लगाउँछन् । गणकै गाडीमा एसपी कार्कीको घर बनेको ठाउँमा प्रहरी लैजाने र ल्याउने गरिएको स्रोतको भनाई छ ।
ती सबै नेपाल प्रहरी विशेष सुरक्षा गणमा दरबन्दी रहेको गण स्रोतको भनाइ छ । एसपी कार्की आफैँले पनि प्रहरी कर्मचारीले घर निर्माणमा सघाइरहेको स्वीकार गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !