काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबीन समिति बनाउने अडान कायमै राख्ने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम किटान नगरी छानबिन समिति गठन हुन नसक्ने अडान कायम राख्ने निर्णय गरेको हो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले सत्ता पक्ष गोर्खा मिडिया नेटवर्कको नाम राख्न तयार भए पनि त्यतिले नपुग्ने र नाम किटान गर्नु पर्ने बताए । सहकारी ठगीमा संलग्नहरुको नामनै नलेखि समिति बन्नुको अर्थ नहुने उनको भनाइ छ ।
‘कांग्रेसले रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान छ, उहाँहरुलाई हामीले यदी रवि लामिछानेको नाम नराख्दै गर्दा कस्तो किसिमको प्रस्ताव गर्नुहुन्छ सरकार पक्षले भनेर पर्खिरहेका हौँ,’ उनले भने, ‘उहाँहरु यसमा ठिक ठाउँमा हुनुहुन्न । सरकार पक्ष छानबिन गर्ने ठाउँमा आउनुभएको छैन ।’
तर, सत्ता पक्षले भने संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न आवश्यक नभएको अडान लिइरहेका छन् । जसले गर्दा समिति बन्न सकेको छैन भने संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । बुढानीलकण्ठस्थित देउवाको निवासमा दुई नेताबीच ‘वान अन वान’ छलफल भएको हो ।
आजको लागि प्रतिनिधि सभा बोलाइएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले रविमाथि छानबिन गर्नु पर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !