काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो। नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। पक्रेर लैजाँदै गर्दा उनका समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए।
कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविपरीत भएको सरोकारवाला पक्षहरूले बताएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले सञ्चार गृहमा प्रहरी प्रवेश गरेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताए। त्यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राज्यले लोकतन्त्रको उपहास भएको बताए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !