काठमाडौं। सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ५० हजार नगद राशीको दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार २०८० प्रदान गरिएको छ । गोरखामा जन्मिएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा स्थापित दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले बुधबार त्रिभुुवन विश्वविद्यालय कीर्तिपूर परिसरमा एक कार्यक्रम गर्दै “दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार २०८०” वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरेको हो । सीमा र सुरक्षाका विषयमा गहन अध्ययन गर्दै राष्ट्रिय योगदान पुर्याएबापत श्रेष्ठलाई पुरस्कृत गरिएको स्मृतिकेन्द्रका अध्यक्ष ई. ईश्वरचन्द्र बानियाँले बताए।
पुरस्कार दिँदै त्रिवि उपकुलपति प्रा. डा. केशरजंग बरालले स्मृतिकेन्द्रले पुरस्कृत गरेको व्यक्तित्व सीमाविद् श्रेष्ठ कृतित्व, व्यक्तित्व र अस्तित्वको हिसावले सही व्यक्ति चयन हुनुभएको बताए। पुरस्कार ग्रहण गर्दै सीमाविद् श्रेष्ठले गोरखामा जन्मिएर इतिहाँस,ज्योतिषशास्त्र,तन्त्रशास्त्रका धुरन्धर व्यक्तित्व दण्डपाणि अर्ज्यालको नाममा स्थापित संस्थाबाट पुरस्कृत हुन पाउँदा अत्यन्त गर्व र उँचो महसुश गरेको धारणा व्यक्त गरे । उनले सीमाको विषयमा थप प्रकाश पार्दै भारतबाट सन् १९६२देखि अतिक्रमित नेपाली भूभागको नेपालसँग लालपूर्जा भएर पनि भोगचलन गर्न नपाएको विषय पनि उजागर गरे । उनले नेपाल सरकारले चाहे अझै पनि वार्ता मार्फत आफूसँग भएको प्रमाण देखाएर अतिक्रमित नेपाली जमीन फिर्ता ल्याउन सक्ने दाबी गरे ।
२०६२ सालमा स्थापित स्मृतिकेन्द्रले इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवा लगायतका विविध विषयहरूमा राष्ट्रियस्तरमा योगदान दिएका विद्वान् विदुषीलाई प्रत्येक वर्ष पुरस्कार दिँदै आएको छ । यसअघि ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा. डा .तुलसीराम वैद्य, प्रा. दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा .डा. सुरेशराज शर्मा, प्रा. डा. सुरेन्द्र केसी, साहित्यकार पुण्यरश्मि खतिवडा, डा. मोदनाथ प्रश्रित, विदुषी रमा शर्मा, प्राज्ञ विष्णु प्रभात लगायतका विद्वान् विदुषीहरूलाई पुरस्कृत गरिसकेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !