काठमाडौँ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ । स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते उक्त कार्यविधि स्वीकृत गरेको हो ।
कम्पनी दर्ता भएको सात वर्ष भन्दा बढी समय नभएका स्टार्टअप उद्यम कर्जा पाउनका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ । कुल चुक्ता पुँजी दुई लाखदेखि १० लाखसम्म भएको, उद्यमको कुल कारोबार वार्षिक दुई करोडभन्दा बढी नरहेको र स्थिर पुँजी (घरजग्गाको बाहेक) दुई करोडभन्दा बढी नभएको हुनुपर्नेछ ।
कानुनबमोजिम दर्ता नभएको, विदेशबाट वस्तु तथा सेवा आयात गरी बिक्री वितरण गर्ने, कालोसूचीमा परेको र होल्डिङ तथा लगानी कम्पनीको रूपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम दर्ता भएको कम्पनीलाई स्टार्टअप उद्यमी कर्जा उपलब्ध गराउन नसकिने कार्यविधिमा जनाइएको छ । स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ ।
कर्जा लिनका लागि प्रस्ताव आह्वान गर्ने, पेस भएका प्रस्ताव मूल्याङ्कन गर्ने तथा सिफारिस गर्ने काम प्रतिष्ठानले गर्नेछ । कार्यविधिअनुसार सरकारी स्वामित्वको वाणिज्य बैङ्कलाई मात्रै कर्जा प्रवाह गर्ने बैङ्कको रूपमा तोक्नुपर्नेछ । बैङ्कले कर्जा प्रवाह गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, साँवा फिर्ता र ब्याज भुक्तानीको अवधि तथा प्रक्रिया तोकेर प्रतिष्ठानसँग सम्झौता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
“कर्जाको अवधि अधिकतम पाँच वर्षमा नबढाई ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट साँवा र ब्याजबापतको रकम फिर्ता गर्न सुरु गर्नुपर्नेछ । बैङ्कले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई धितोको रूपमा राख्नुपर्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बिमा भने उद्यमी आफैँले गर्नुपर्नेछ”, कार्यविधिमा उल्लेख गरिएको छ ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत गरेको कार्यविधी अनुसार स्टार्टअप उद्यमीले बैंकबाट बढीमा २५ लाख रुपैयाँसम्म कर्जा पाउने छन् । यस्तो कर्जा बढीमा ५ वर्षभित्र तिरिसक्ने गरी लिनु पर्ने छ । एक वर्षभन्दा धेरै ग्रेस अवधि उपलब्ध गराउन पनि पाइने छैन । ऋण दिने बैंकले ५ लाखसम्मको कर्जा भए एकै किस्तामा पैसा दिने छ । १५ लाखसम्मको कर्जा भए दुई किस्तामा र २५ लाखसम्मको कर्जा भए तीन किस्तामा ऋण प्रवाह गर्ने छ ।
यसरी दिइएको कर्जालाई निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गराउनु पर्ने र कर्जा रकमको बढीमा ०.१ प्रतिशतसम्म बैंकले सेवा शुल्क लिन पाउने छ । यस प्रकारको कर्जा प्राप्त गर्न स्टार्टअप उद्यमीले ‘नवीन प्रविधि वा सृजनशील कार्यविधिअनुसार स्टार्टअप उद्यमका लागि विभिन्न १६ वटा क्षेत्र तोकिएका छन् । जसमा कृषि तथा पशुपक्षी, वन पैदावार, पर्यटन प्रवर्द्धन मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, सूचना प्रविधि तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइलगायत क्षेत्र छन् । सहज र सुरक्षित यातायात एवम् पारवहन, अटोमोवाइल्स, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, खानी तथा खनिज अनुसन्धान, घरायसी वा दैनिक जीवनयापनसँग जोडिएका क्षेत्रमा पनि स्टार्टअप कर्जा उपलब्ध गराइने छ ।
खाद्य उत्पादन तथा प्रशोधन, फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा उद्यमशीलता कर्जा पाइनेछ ।
चालु आर्थिक वर्षको बजेटको व्यवस्था
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ६८ मा सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने उल्लेख छ । यसका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब बराबर बजेट विनियोजन भएको छ । प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहन गरिने उल्लेख छ ।
त्यस्तै, मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न ‘स्टार्टअप इकोसिस्टम’ विकास गरिने बजेटमा उल्लेख छ । “उद्यमशील सोच र संस्कृतिको विकास एवम् उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौँमा इन्क्युवेसन सेन्टर सञ्चालन गरिनेछ । भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिनेछ”, बजेटमा भनिएको छ ।
विदेशी लगानी कम्पनीहरूमार्फत प्रवाह हुने वैदेशिक लगानीलाई प्रोत्साहन गरी नवप्रवर्तन र उद्यमशीलता विकासमा परिचालन गरिने बजेटमा उल्लेख छ । स्टार्टअपलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब २५ करोड बराबर विनियोजन भएको थियो ।
रासस
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !