काठमाडौं। ठूला उद्योगको विद्युत काट्ने निर्णयविरुद्ध तीन व्यावसायिक संस्था एक भएर अगाडि बढ्ने भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आपतकालीन बैठकले नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित नेपाल विद्युत प्राधिकरणको गलत निर्णयका विरुद्धमा जाने निर्णय भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनवापत बक्यौंता भएका ठूला उद्योगको धमाधम लाइन काट्न थालेको छ। प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटेको थियो।
लाइन काटेपछि महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले शनिबार बिहान १० बजे आपतकालिन बैठक डाकेका थिए। बैठकले डेडिकेटेड र ट्रंकलाइनका बारेमा आधिकारिक सूचना तयार पार्ने र आइतबार बिहान परिसंघ र चेम्बरका अध्यक्षसहित पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ।
रिलायन्स स्पिनिङका संचालक शशिकान्त अग्रवाल तथा पवन गोल्यान, घोराही सिमेन्टका पुरुषोत्तमलाल संघई तथा आदित्य संघई, अर्घाखाँची सिमेन्टका संचालक तथा महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका र जगदम्बा स्टिलका संचालक साहिल अग्रवाल थिए। बैठकमा कसमस सिमेन्टका संचालक तथा महासंघका कार्यसमिति सदस्य प्रवलजंग पाण्डे, लक्ष्मी स्टिलका विष्णु न्यौपाने, नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा र सोनापुर सिमेन्टका निपेश तायल थिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !