काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका कर्मचारीहरु देश छाडेर पलायन हुन थालेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो चिन्ता जनाएका हुन् ।
तुलनात्मक रुपमा राम्रो सेवा सुविधा पाउने र ‘ह्वाइट कलर जब’ भनेर प्रख्यात बैंकिङ क्षेत्रकै कर्मचारी अहिले ब्यापक मात्रामा विदेश पलायन हुन थालेपछि वित्तीय क्षेत्रमा केही समययता चिन्ता जनाउन थालिएको थियो । बैंकको जागि छाड्दै विदेश जाने परिपाटी बढेकोप्रति बरिष्ठ बैंकरहरु नै पनि चिन्तित देखिन थालेका थिए । यही परिवेशमा गभर्नरले बैंकरसामु चासो व्यक्त गरेका हुन् ।
‘बैंकहरुले शनिबार पनि कर्मचारीलाई लदाउने काम गरे’ उनले भने, ‘काममा बढी घोटाइयो, तर कर्मचारीलाई पढाइएन । उनीहरुलाई तालिम कम भयो ।’ बैंकहरुले कर्मचारीको बृत्ति विकासमा खर्च गर्ने र उनीहरुको क्षमता अभिबृद्धि गराउनुको साटो बढी दोहन गर्न खोज्दा वित्तीय क्षेत्रबाट कर्मचारी पलायन हुन थालेको उनले बताए ।
उनले राष्ट्र बैंकको प्राथमिकता नै वित्तीय क्षेत्रलाई प्रभावकारी बनाउने तर्क भएको दोहोराए । पछिल्लो समय वित्तीय सेवामा ब्यापक सुधार भएको भन्दै उनले केही आँकडाहरु पनि प्रस्तुत गरे । ‘अहिले नेपालमा डिजिटल भुक्तानीमा ठूलो सुधार भएको छ’ उनले भने, ‘२ करोड १० लाख बैंक खाताहरु मोबाइल बैंकिङमा आबद्ध छन् । यो संख्या देशको कुल जनसंख्याको ७३ प्रतिशत बराबर हो ।’त्यस्तै गभर्नर अधिकारीले अहिले नेपाली बैंकिङ क्षेत्र र राष्ट्र बैंकले गालि खानु परेकोमा आफू आश्चर्यमा परेको बताएका छन् । ‘बैंकिङ क्षेत्रले किन गालि खाइरहेको छ, मैले बुझेको छैन’ उनले भने, ‘बैंकलाई कहिले मिटरब्याजी भनेको छ, कहिले सामन्ती भनेको छ ।’
उनले नेपालमा बैंकहरुले लिने सेवा शुल्क छिकेमी देशहरुको तुलनामा ज्यादै कम भएको बताए । यसमा बैंकहरुले आफ्ना ग्राहकलाई सेवाबारे बुझाउन नसकेका कारण पनि बाहिर भ्रम उत्पन्न भएको गभर्नरले बताएका छन् । ‘के बैंकहरुले साँच्चै बढी कमाएका हुन् त ?’ उनले थपे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !