काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएको छ ।
शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले बोर्डले अध्ययन गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएकोले आवश्यक निर्णय गरिदिने अर्थ मन्त्रालय मार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्ले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएमा बोर्डले प्रक्रिया अगाडि बढाउने अन्यथा मन्त्रिपरिषद्को निर्देशनबमोजिम हुने पनि बोर्ड स्रोतको भनाई छ । मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते थप अध्ययन गर्नुपर्ने भन्दै नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो ।
तर, नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको लामो समयसम्म पनि कुनै निर्णय नभएपछि गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले लाइसेन्सको विषयमा आवश्यक निर्णय गरिदिन भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।
धितोपत्र बोर्डले २०७९ असोज २ गते ४५ दिनको म्याद राखेर नयाँ स्टकको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । तर, आवेदन दिन १० दिन बाँकी हुँदा सर्वोच्च अदलातमा मुद्दा परेपछि आवेदन प्रक्रिया रोकिएको थियो ।२८ वैशाखमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले थप अध्ययन गर्नुपर्ने भन्दै स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । सोही अनुसार बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गरेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !