धनगढी । कैलाली जिल्लाका मालपोत र नापी कार्यालयमा विद्युत्को विकल्प नहुँदा सेवा ग्राहीले सास्ती भोग्नु परेको छ । कार्यालय समयमा विद्युत् काटिँदा विकल्पमा कुनै पनि उपकरण नहुँदा सेवा प्रभावित भई सेवा ग्राहीले सास्ती भोग्नु परेको हो ।
जिल्लाका विभिन्न ठाउँबाट मालपोत र नापी कार्यालयमा आएका सेवाग्राहीले कार्यालय समयमा बत्ति काटिएर समयमा काम नहुँदा एउटै कामको लागि धेरै दिन धाउनु पर्ने गुनासो गरेका छन् ।मालपोत कार्यालयमा बत्ति काटिँदा विकल्पको अभावमा कुनै काम हुन सक्दैन । कर्मचारी र सेवाग्राहीले बत्ति आउने समय पर्खेर बस्नु पर्ने अवस्था रहेको छ ।
सेवाग्राहीको उच्च चाप र धेरै राजश्व संकलन गर्ने कार्यालयमा बत्ति काटिएका बेला काम गर्न जेनेरेटर,सोलार,इन्भर्टर जस्ता बैकल्पिक उपकरणको व्यवस्था गरिएको छैन । बत्तिकै भरमा कार्यालयको काम गर्नुपर्ने बाध्यता रहेको छ । भने मालपोत कार्यालय संगै रहेको नापी कार्यालयमा पनि प्रयाप्त इन्भर्टर ब्याट्री नहुदा बत्ति काटिँदा काम प्रभावित हुदै आएको छ ।
कैलारी गाउँपालिकाबाट मालपोतमा आएका दिपेन्द्र चौधरीले कार्यालय समयमा पटक पटक बत्ति जाँदा २ दिन देखि काम हुन नसकेको गुनासो गरे । उनले भने, बत्ति जाँदा कर्मचारी घाम ताप्न जान्छन् हामी लाइन मै बसिराख्छौ । बत्तीको विकल्पमा इन्भर्टर,जेनेरेटर वा सोलार भएको भए सेवा ग्राहीले समय मै सेवा पाउने उनको बुझाई छ ।
जिल्लाका १३ वटै स्थानीय तहका जग्गा जमिन सम्बन्धि सम्पुर्ण कामहरु मालपोत कार्यालय र नापी कार्यालय बाटै हुने भएकाले हरेक दिन जसो सेवा ग्राहीको अत्यधिक भिड हुने गरेको छ । तर सेवा ग्राहीको उच्च चाप हुने र धेरै राजस्व संकलन गर्ने कार्यालयमा प्रयाप्त कर्मचारी,स्रोत,साधन नहुँदा सेवा ग्राहीले भने सधैं सास्ती भोग्नु परेको छ ।
लामो समयदेखि मालपोत र नापी कार्यालयका समस्या सबैलाई जानकारी नै रहेको छ । सबैले भोग्दै आइरहेका छन् । तर समस्या समाधानको लागि कसैले ठोस पहल नगर्दा बषौंदेखि मालपोत र नापीका समस्या विद्यमान रहेका हुन् ।
धनगढी उपमहानगरपालिका १४ फुलवारीका अक्कल भण्डारीले २ दिनदेखि काम हुन नसकेको बताए । उनले भने, हिजो देखि मालपोत र नापी कार्यालयमा धाइरहेको छु । काम हुन सकेको छैन । कहिले बत्ति जान्छ । कहिले सर्भर डाउन हुन्छ । कहिले नेट चल्दैन । त कहिले कर्मचारीले ढिलासुस्ती गर्छन् ।
ठूलो मात्रामा राजश्व संकलन गर्ने कार्यालयमा विद्युत्को विकल्पमा जेनेरेटर,सोलार लगायत बैकल्पिक माध्यम नहुनु दुखद भएको भण्डारीले बताए । टाढाबाट आएका महिला,बृद्ध,बृद्धा सेवाग्राहीलाई सास्ती भएकाले बत्ति काटिँदा पनि काम गर्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । साथै कार्यालय भित्र शौचालय अत्यन्तै दुर्गन्धित भएको, फोहोर व्यवस्थापन नभएका उनको गुनासो छ ।
नेपाललाई विस २०७३ साल मै लोडसेडिङ मुक्त घोषणा गरिएको भएपनि धनगढीको चौराह क्याम्पस चोक सडक बिस्तार र निर्माण भइरहेकाले विद्युत काटिने गरिएको विद्युत कार्यालयले जनाएको छ ।
जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेम बहादुर दौल्यालले बत्ति गएपछि त्यसको व्याकपमा कुनै उपकरण नभएकाले सेवाग्राहीलाई सास्ती भएको बताए । उनले धनगढी उपमहानगरपालिकाले सोलारको व्यवस्था गर्न गइरहेकाले अबको १ महिना भित्र जडान गरि समस्याको समाधान गरिने बताए । उपमहानगरपालिकाले १० केविका १० वटा सोलार पाता र २० वटा इन्भर्टर दिने भनी राख्ने ठाउँ समेत हेरीसकेकाले १ महिना भित्र जडान गरिने उनको भनाई छ । उनले सोलार जडान पछि बत्ति जाँदा पनि सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास व्यक्त गरे ।
साथै जनशक्ति अभावका कारण शौचालय लगायत कार्यालय परिसरमा फोहोर भएकाले आफुले केही दिनमा सरसफाई गर्न लगाउने प्रतिबद्धता व्यक्त गरे ।
उता नापी कार्यालयका प्रमुख जनक राज भटले नापी कार्यालयमा प्रयाप्त मात्रामा इन्भर्टर नभएका कारण बत्ति जाँदा सेवा प्रवाहमा समस्या आएको बताए । सडक विस्तारका कारण बत्ति काटिने भएकाले बत्ति जाँदा समस्या आएको उनको भनाई छ । उनले स्थानीय तह र प्रदेश सरकारलाई आवश्यक स्रोत,साधन जुटाई दिन अनुरोध गरि समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !