धनगढी । कैलालीको धनगढीमा ११ औं संस्करणको थारु होमस्टे गाउँ भादा महोत्सव लाग्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादा गाउँको दिपेन्द्र चारपाते माध्यामिक विद्यालयको खेलमैदानमा पुष १७ गते देखि महोत्सव संचालन गरिने भएको हो ।
संरक्षण सम्बद्र्धन के लाग सक्कुजन करी काम, संस्कृति भेष भूषा राखी हमार पहिचान भन्ने मुल नाराका साथ लाग्ने महोत्सव पुष २२ गतेसम्म चल्ने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।
थारु जातीको परम्परा,संस्कृति,खानपान,भेषभूषा,सिप,प्राकृतिक सम्पदाको सदुपयोग गर्दै तिनको जगेर्ना गर्नुको साथै स्थानीय स्व रोजगारको अवसर दिलाउन सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिन लागिएको हो ।थारु जातिको पहिचानलाई पर्यटन व्यवसाय मार्फत राष्टिय,अन्तर्राष्टिय स्तरमा पुर्याउन को लागि होमस्टे कार्यक्रम एवं थारु होमस्टे गाउँ भादा महोत्सव २०६८ सालदेखि संचालन हुदैँ आएको छ ।भादा गाउँ महोत्सव हरेक जात जाती तथा देश विदेशका नागरिकहरुका बिचमा सामाजिक सद्भाव कायम गर्न सहयोगी हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।
थारु होमस्टे गाउँ भादा महोत्सवका मुख्य आकर्षणका रुपमा प्रत्येक दिन स्थानीय तथा राष्टिय कलाकारहरूबाट थारु नाचगान प्रस्तुती, थारु खानपान,थारु सीप तथा भेषभूषा,थारु देउ थानको अवलोकन भ्रमण,थारु संग्रहालय अवलोकन,रमाइलो मेला,फोटो प्रदर्शनी रहेका छन् । महोत्सवमा भलिबल प्रतियोगिता समेत गरिने आयोजकले जनाएको छ । करिब १९ लाखको लागतमा लाग्ने महोत्सवलाई १ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको निशुल्क रुपमा अवलोकन गर्न सकिने आयोजकले बताएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !