धनगढी । कैलाली–कञ्चनपुरमा नेपाल प्रहरीका सिबिल घुमुवाहरुले असुली धन्दा चलाइरहेको आरोप लागेको छ । हुलाक कार्यालय कैलाली मार्फत नेपाल पत्रकार महासंघ कैलाली शाखामा धनबहादुर बोहराको नामबाट प्राप्त पत्रमा प्रहरीको सुदूरपश्चिम आरआईटी, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयको घुमुवा प्रहरीले असुली धन्दा चलाएको आरोप लगाइएको हो ।
आरआईटीका प्रहरी, जिल्ला र वडा प्रहरीको सिबिल धुमुवाहरु असुली धन्दा प्रत्येक ठाउँमा तस्करहरुसँग मिलेर रातिको समयमा भारतबाट मालसामान ओसार प्रसार गर्न संलग्न हुन गरेकोलगायतका आरोप लगाइएको छ ।
उनीहरुले प्रहरीका हाकिमहरुलाई गुमराहमा राखेर बदनाम गराउने काम पनि गरिरहेको पत्रमा उल्लेख छ । सादा पोशाकमा रहेका प्रहरीहरुले चोरीका बाइक प्रयोग गरेर असुली धन्दा गर्ने गरेको आरोप लगाइएको छ ।
प्रहरीमाथि ८ आरोप
–बरिष्ठ सई डेनी स्वाँरले कैलालीका विभिन्न तस्करहरुबाट रकम असुली गर्ने गराउने गरेको ।
–असई अनिल बिष्ट तस्करहरुसँग रकम असुली गर्ने गरेको तस्करहरुलाई मासिक रुपले पैसा दिनुपर्छ भनि पैसा मागेको ।
–असई मदन उपाध्याय कनरीगाउँ चौधरीको घरमा गएर जबरजस्ती करणी गर्न खोजेको र जिल्ला प्रहरी कार्यालयमा आएर मिलापत्र गरेको र हाल तस्करहरुसँग रकम असुल गर्ने गरेको ।
–सहायक हवल्दार भरत सिंह ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा रही चोरीका बाईक तस्करी गर्दा विवादमा आएको र हाल आएर आरआईटीमा रातिको समयमा तस्करहरुसँग मिलेर तस्करी गर्ने गरेको ।
–बरिष्ठ हवल्दार लालबहादुर चन्दले आफन्तहरुलाई छोड्ने र अरुलाई पाँच किलो चिनी समातेर रोडमा फाल्ने गरेको र आफू आएर चौराहमा बस्ने र विभिन्न व्यक्तिलाई भगाउने गरेको र तस्करहरुलाई रातिको समयमा तस्कर गर्न लगाउने र पैसा असुली गर्ने ।
–वरिष्ठ सई रमेश खड्का आफ्नो एरियाबाट क्यारिङ गराउने गरेको र निजहरुबाट मासिक रुपले असुली गर्ने गरेको । दाजुभाई होटल, रारा होटल लगायतका होटल साहूहरुबाट अनैतिक क्रियाकलाप गराएर पैसा असुल गर्ने गरेको ।
–सहायक हल्दार सुरेन्द्र साहु बजारका प्रत्येक साहुहरुसँग रक्सी र पैसा असुल गर्ने गरेको र चोरीका मोटरसाइकल चलाउने गरेको तथा देहव्यापार गराउने होटलबाट रकम उपर गर्ने गरेको ।
–ट्राफिक त्रिनगरका असई महता प्रत्येक ट्रेक्टरबाट एक हजार लिने गरेको र रिन्यू फेल भएका अटो रिक्साबाट जरिवाना नगराई पैसा असुल गर्ने गरेको ।
पत्रमा ‘पदम थापाको टिम जस्तै यस्ता चोरहरुलाई पनि डाँडा कटाउनु पर्छ’ भनिएको छ । तर पदम थापा को हुन् भनेर केही उल्लेख छैन ।
यस्तै पत्रमा प्रहरीले दशै तिहारमा पैसा, रक्सी, उठाएर खाएको र अहिले सबै नाकाबाट तस्करी गराएर पैसा उठाउने गरेको आरोप पनि लगाइएको छ । उनीहरुले तस्करहरुबाट हामी मिलाउँछु भनेर ५ लाखदेखि ७ लाखसम्म पैसा उठाएको छ आरोप पनि छ । यद्यपि यसमा प्रहरीको नाम लेखिएको छैन ।
प्रहरीले टिकापुर नाका, जोशीपुर, भजनी, रामपुर, हसुलिया, फुलबारी, जुगेडा, शान्तिनगर, त्रिनगर, डोकेबजार, खड्डा, कडकड, त्रिभुवनवस्ती, आईबिआडी, फट्टा, टेडुवा, बेलौरी, पचुई, भुडा, बेलडाँडी र झिलमिला सबैठाउँबाट असुली गर्ने गरेको आरोप लगाइएको छ । यी घटनाहरुमा संलग्न प्रहरीमाथि अनुसन्धान गरेर कारबाही गर्न मागसमेत गरिएको छ ।
यो विषयमा प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी भरतबहादुर बोहरासँग बुझ्दा कहिँ कतै त्यस्तो भएको भए छानविन गरी कार्बाही गर्ने बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !