काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वाणिज्य बैङ्कहरूले साढे २० अर्ब बढी खुद नाफा कमाएका छन् । बैङ्कहरूले चार महिनामा २० अर्ब ७३ करोड २२ लाख ६० हजार बढी खुद नाफा कमाएका हुन् । जुन गत असोज मसान्तसम्मको तुलनामा १ अर्ब १८ करोड ८५ लाख रुपैयाँले बढेको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार एक महिनामा बैङ्कहरूको नाफा ६.०८ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत असोज मसान्तसम्ममा भने बैङ्कहरूले १९ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालु आवको पहिलो चौमासिकमा सबैभन्दा धेरै नाफा भने नबिल बैङ्कले कमाएको छ । बैङ्कले चार महिनामा २ अर्ब १६ करोड ९६ लाख बढी खुद नाफा कमाएको छ । गत असोजमा भने नबिल बैङ्क धेरै नाफा कमाउनेको दोस्रो सूचीमा थियो ।
धेरै नाफा कमाउनेको दोस्रो स्थान भने ग्लोबल आइएमई बैङ्क देखिएको छ । बैङ्कले चार महिनामा १ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । एक महिनामै कम्पनीले १६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको हो । गत असोज मसान्तसम्ममा बैङ्कले १ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले १ अर्ब ८६ करोड ६८ लाख बढी नाफा कमाएको छ । चौथो सूचीमा भने प्राइम कमर्सियल बैङ्क देखिएको छ । चार महिनामा बैङ्कले १ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, हिमालयन बैङ्कले चार महिनामा १ अर्ब ५० करोड ६६ लाख, एनआइसी एशियाले १ अर्ब ३७ करोड ७६ लाख, राष्ट्रिय वाणिज्यले १ अर्ब २० करोड ६७ लाख, एनएमबि बैङ्कले १ अर्ब २३ करोड ८५ लाख, एभरेष्टले १ अर्ब ८ करोड २ लाख, प्रभुले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
कात्तिक मसान्तसम्ममा स्ट्याण्डर्ड चार्टर्डले ९८ करोड १९ लाख, नेपाल बैङ्कले ६६ करोड ८१ लाख, नेपाल एसबिआईले ६० करोड ५६ लाख, माछापुच्छ्रेले ६७ करोड १५ लाख, कुमारीले ८८ करोड ८० लाख, लक्ष्मी सनराइजले ५१ करोड ५९ लाख, सिद्धार्थले ३३ करोड ३८ लाख, सानिमाले ७७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यता, सरकारी स्वामित्वमा रहेको कृषि विकास बैङ्कमा ऋणात्मक देखिएको छ । यद्यपि, नोक्सानी रकम भने घटाएको देखिएको छ । कात्तिक मसान्तसम्म आइपुग्दा बैङ्क २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । चालु आवको पहिलो त्रैमासमा पनि बैङ्कले ९० करोड ३१ लाख बढी नोक्सानीमा थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !