काठमाडौं । हालसम्म एक दर्जन वाणिज्य बैङ्कहरूले लाभांश घोषणा गरेका छन् । बैङ्कहरूले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
सञ्चालनमा रहेका मध्ये ११ वटा बैङ्कहरूले लाभांश घोषणा गरेका छन् । अहिलेसम्म एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा, नेपाल एसबिआई, माछापुच्छ्रे, नबिल, ग्लोबल आइएमई, सिटिजन, सिद्धार्थ, लक्ष्मी सनराइज बैङ्कले लाभांश घोषणा गरेका छन् ।
तर, यो वर्ष कुमारी र एनएमबि बैङ्कले भने सेयरधनीको हात रित्तो बनाएको छ । एनएमबि बैङ्कले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने भएको हो । गत वर्ष भने बैङ्कले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो । यता, कुमारी बैङ्कले पनि यो वर्ष लाभांश नबाँड्ने भएको हो । गत वर्ष भने बैङ्कले १२।५ प्रतिशत नगद लाभांश दिएको थियो ।
अब ६ वटा बैङ्कहरूले लाभांश घोषणा गर्न बाँकी छ । तर, यो वर्ष लाभांश घोषणा गरेका बैङ्कहरूले बोनस भन्दा नगदमा जोड दिएका छन् । गत वर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश एनआईसी एशिया बैङ्कले घोषणा गरेको छ । बैङ्कले आफ्ना सेयरधनीहरुलाई २९ प्रतिशत बोनस र १.५२ प्रतिशत नगद लाभांश दिने भएको छ । अघिल्लो दुई वर्ष सेयरधनीको हात रित्तो बनाएको बैङ्कले यो वर्ष भने ३०.५२ प्रतिशत लाभांश दिने भएको हो । जुन गत असोज २८ गते सम्पन्न २६औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
यस्तै, एभरेष्ट बैङ्कले पनि आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैङ्कले यो वर्ष १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कले पनि सो लाभांश गत असोज ३० गतेको वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।
यो वर्ष सानिमा बैङ्कले १४.७ प्रतिशत, नेपाल एसबिआईले १०.५५ प्रतिशत, माछापुच्छ्रेले १४ प्रतिशत र नबिल बैङ्कले ११ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । यस्तै, ग्लोबल आइएमई बैङ्कले पनि ९ प्रतिशत, सिटिजनले ५.२९ प्रतिशत, सिद्धार्थले ४.२१ प्रतिशत र लक्ष्मी सनराइजले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । यीमध्ये अधिकांश बैङ्कहरूको साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केही बैङ्कले मिति तय गरेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने व्यवस्था छ । सो अवधिमा अघि नै सेयरधनीलाई लाभांश दिने अथवा नदिने पनि घोषणा गर्नुपर्छ ।
आधा दर्जन बैङ्कको लाभांश घोषणा हुन् बाँकी, कसले कति दिन सक्छन् ?
अब आधा दर्जन बैङ्कहरूले लाभांश घोषणा गर्न बाँकी छ । सरकारी स्वामित्वमा रहेका तीन वटासहित ६ बैङ्क लाभांश घोषणा बाँकी छ ।
सरकारी स्वामित्वका नेपाल र कृषि विकास बैङ्क, प्रभु, प्राइम, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले लाभांश घोषणा हुन् बाँकी छ । यो मध्ये हिमालयन बैङ्कले लाभांश बाँड्न नसक्ने अवस्थामा छ । बैङ्कको वितरणयोग्य नाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ ।
गत आवको वितरणयोग्यको आधारमा भने प्रभु र नेपाल इन्भेष्टमेन्ट बैङ्क पनि दबाबमा छन् । यता, प्राइम कमर्सियल बैङ्कको लाभांश क्षमता पनि १ प्रतिशत मात्रै छ । यद्यपि, यी बैङ्कहरूले अघिल्ला वर्षहरूको रिटेन्ड अर्निङ्गमा रहेको रकम थपी लाभांश पनि सक्नेछन् ।
यस्तै, कृषि विकास बैङ्कले भने यो वर्ष १४.९२ प्रतिशत लाभांश बाँड्न सक्ने सामर्थ्य बनाएको छ । गत आवमा बैङ्कको वितरण योग्य नाफा २ अर्ब ७१ लाख रुपैयाँ छ । यता, नेपाल बैङ्कले पनि यो वर्ष ६.६२ प्रतिशत लाभांश दिने सामर्थ्य बनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !