धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले जाजरकोट भूकम्प पीडितलाई सहयोग गरेको छ ।
प्रदेशसभाका नौ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलन गरेर सोमबार जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण गरेको हो ।
एमाले संसदीय दलका नेता राजेन्द्र रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकिय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
रावलकाअनुसार कुल संकलित एक लाख ३५ हजार रूपैयाँ एकमुष्ट जिल्ला प्रशासन कार्यालय मार्फत हस्तान्तरण गरिएको हो ।
संसदीय दलबाट राहत रकम प्रदान गर्ने यो अभ्यास पहिलो पटक भएको उनको भनाई छ ।
रावलले उक्त रकम थोरै भएपनि विपद्का बेला पीडितलाई राहत तथा एकताको सन्देश दिन सहयोग राशि प्रदान गरिएको बताए ।
उनले भने –‘हामीले प्रदान गरेको रकम अप्रयाप्त हो । यद्यपी भावनात्मक सन्देश दिन खोजेका हौं ।’ नेता रावलले सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका भुकम्पपीडितहरुमा राहत दिन नसकेको बताउँदै –‘डोटी, बझाङ, बाजुराका पीडितहरुलाई राहतको व्यवस्था यथाशिघ्र गर्नुपर्छ ।’ उनले जाजरकोटमा आफुहरुले राहत रकम सहयोग गर्दा प्रदेशका भुकम्पपीडितका पक्षमा काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !