काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवालाई लिएर पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती नेपाल वायु सेवा निगमको पक्षमा उभिएका छन्।
उनले काम छोडेर विरोध प्रदर्शन गर्दै आएका निगमका कर्मचारीलाई पत्र पठाइ सरकारले अर्को निर्णय नगरेसम्म निगमबाट ग्राउण्ड ह्याण्डलिङ सेवा नखोसिने बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई साताअघि निगमबाट ग्राउण्ड ह्यण्डलिङ खोस्ने निर्णय गरेको थियो। त्यसपछि निगमका कर्मचारी यो सेवा खोसिए तलब पनि नपाउने भयमा विरोधमा उत्रिएका थिए।
विभिन्न राजनीतिक दलको छहारीमा रहेका चार वटा ट्रेड युनियनले कर्मचारीलाई दैनिक डेढ घण्टा धर्नाका नाममा घाम ताप्ने व्यवस्था मिलाएका थिए।
मन्त्री किरातीले आइतबार तिनै कर्मचारीलाई सम्बोधन गरी पत्र पठाउन लगाएर निगमबाट ग्राउण्ड हयाण्डलिङ खोस्ने विषयमा कुनै छलफल र निर्णय नभएको तथा सरकारले निर्णय नगर्दासम्म यो जिम्मेवारी निगमकै हुने बताएका छन्। उनले कर्मचारीहरुलाई विरोधका कार्यक्रम तत्काल रोकी काममा फर्किन भनेका छन्।
प्राधिकरणले भने ग्राउण्ड ह्यान्डलिङ सेवाका लागि खुला प्रतिस्पर्धाबाट कम्पनी छान्ने भन्दै यो प्रक्रिया अगाडि बढाउन समिति गठन गरिसकेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !