धनगढी । स्थानीयले गेटाको हाताभित्र प्रवेश गर्न नदिएपछि डाक्टर केसीले आफू नडराउने प्रतिक्रिया दिएका छन्।
शुक्रबारदेखि धनगढीमा अनसन शुरु गरेका अभियान्ता डाक्टर केसीले आज पत्रकार सम्मेलन गर्दै कुनै नेताले आफ्नो आन्दोलन रोक्न खोज नरोकिने बताएका हुन् ।
‘म प्रोफेसर हुँ। डाक्टर हुँ। प्रतिष्ठान के हो, विश्वविद्यालय के हो भन्ने मलाई थाहा छ। आर्थिक मन्दी छ भने विश्वविद्यालय बनाउन त बेसी पैसा चाहिन्छ नि । मेरो आन्दोलन कसैले रोक्न खोजेर रोकिन्न’, उनले भने, ‘देउवाजीले रोक्न खोजे। प्रचण्डले कोसिस गरे। ओलीले रोक्न खोजे। नेताहरुले रोक्न खोजेर मेरो आन्दोलन रोकिन्न। म लड्न रोकिनेवाला छैन।’
गेटामा अनशन बस्न नपाएपछि केसी धनगढीको लक्ष्मी नारायण मन्दिर पुगेका हुन्। सुदूरपश्चिमका जनताको भावनाविपरीत गेटामा प्रतिष्ठान बनाउनुपर्ने धारणाका साथ अनशन बस्न आएका केसीको आधिकारिक धारणा बुझ्न खोजेको संघर्षरत स्थानीयको भनाइ छ।
‘सरकारले विश्वविद्यालय बनाउने तय गरिसकेको छ। विधेयक राष्ट्रिय सभामा पारित हुने अवस्थामा छ’, संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने, ‘मेडिकल प्रतिष्ठान बन्नुपर्ने एजेन्डा लिएर अनशन बस्न थालेको जानकारी आयो। हामीले मेडिकल विश्वविद्यालयको आवाज उठाइदिनुपर्यो भन्यौँ। उहाँ रिसाएर जानुभएको हो।’
सरकारले २०७९ माघमा प्रस्तावित गेटा मेडिकल कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !