धनगढी । १७ औं संस्करणको सुदुरपश्चिम महोत्सवमा आज नवौं दिन विद्यालय स्तरीय नृत्य प्रतियोगिताको फाइनल हुने भएको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि जारी महोत्सवमा भइरहेको विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आज फाइनल गरिने नृत्य संयोजक भवानी रेग्मीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालयको सहभागिता रहेको नृत्य प्रतियोगितामा ४ वटा विद्यालय फाइनलमा प्रवेश गरेका थिए । धनगढीको स्टेपिङ स्टोन ,सिड्लीङ जोन मन्टेश्वरी ,एलाइन्स इन्टरनेसनल र कोभिडा इन्टरनेसनल स्कुल फाइनलमा प्रवेश गरेका हुन् । आज ४ वटै विद्यालय बिच प्रतिस्पर्धा गराई प्रथम,द्धितीय र तृतीय स्थान प्राप्त गर्ने टिमलाई पुरस्कृत गरिने संयोजक रेग्मीले बताए ।
यस्तै आज महोत्सवमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पुर्ण विक्रम शाह (पल शाह) र बाल गाएक सुप्रिम मल्ल ठकुरीको मूख्य प्रस्तुती रहने छ । भने अनु चौधरी,सुनिल नेपाली,भुवन प्रकाश बडु लगायतका स्थानीय कलाकारको समेत प्रस्तुती रहेको संयोजक रेग्मीले जानकारी दिए ।
महोत्सवमा हरेक दिन बिहान ११ बजेदेखि ३ बजे सम्म स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । भने दिउँसो ३ बजे पछि राष्टिय स्तरका अतिथि कलाकारको प्रस्तुती देखाइने छ ।
१७ औ संस्करणको महोत्सवमा विशेष आकर्षणको रुपमा थारु गाउँ, फोटो प्रदर्शनी,रमाइलो मेला,कृषि प्रर्दशनी रहेका छन् । विगतका बर्ष झै यस वर्षपनि महोत्सवमा दर्शकको बाक्लो उपस्थिति रहेको आयोजकको भनाई छ ।यस बर्षको महोत्सवको टिकट खल्तीबाट काट्न सकिने व्यवस्था मिलाईएको छ । भने खल्तीको प्रोमो कोड प्रयोग गरि हरेक टिकटमा २५ रुपियाँ छुट पाइने आयोजकले जनाएको छ । साधारण तर्फ रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !