भोजपुर । भोजपुरमा पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । भोजपुरको सदरमुकाम भोजपुर बजारबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् ।
पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालयअगाडि विरोध प्रदर्शनसमेत गरेका छन् । कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
समाजवादी नेपालका सदस्य तथा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलेका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई जिल्ला सदस्य दिनेश राई, धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास रहेका छन् । यस्तै धनकुटामा बन्द गर्दै हिँड्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा किरात राई यायोख्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ रहेका छन् ।
उनीहरूलाई धनकुटा र भोजपुरको सीमवर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !