काठमाडौं । नेपाल वायु सेवा निगमबाट खोसेर विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ प्रक्रियालाई खुला प्रतिस्पर्धामा लैजाने नेपाल नागरिक उड्ययन प्राधिकरणको तयारीको विषयलाई राष्टिय स्वतन्त्र पार्टीले चासो देखाएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले विमानस्थलको ग्राउन्ड ह्याण्डलिङसँगै मुलुकको हवाई उड्डयनको क्षेत्रमा रहेका समस्याबारे ध्यानाकर्षण पत्र बुझाएको छ। पत्रमा विमानस्थलको ग्राउन्ड ह्याण्डलिङमा नेपाल नागरिक उड्डयन प्राधिकरणल गरेको निर्णयबारे प्रश्न उठाएको छ।
नेपाल एयरलायन्ससँग ग्राउन्ड ह्यान्डिलिङको अनुभव भएको र अर्बौं लगानी गरेको अवस्थामा निजी कम्पनीलाई खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ दिने योजना राष्ट्रिय सुरक्षासँग जोडिएको रास्वपाले जनाएको छ। ग्राउन्ड ह्याण्डलिङ खोस्दा नेपाल एयरलायन्स आर्थिक रुपमा थप धरासायी हुने भन्दै रास्वपाले त्यसको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न सोधेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित पुगेका सांसदहरुले प्रचण्डलाई सुझावसहितको पत्र बुझाएका हुन्।
यस्तै, रास्वपाले युरोपेली युनियनको सेफ्टी लिस्ट र क्यानले कमजोरीका कारण लगाएको प्रतिबन्धबारे पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्। रास्वपाले इयुले दिएको सुझावको सम्बोधनसहित उडान सुरक्षा प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाएको छ। इयुको सेफ्टी लिस्टमा रहँदा नेपालको पर्यटन उद्योग नै धरासायी हुने रास्वपाले उल्लेख गरेको छ।
निगमले नयाँ विमान खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेकोमा पनि विगतमा झैं भ्रष्टाचारको आशंका रहेको पार्टीले उल्लेख गरेको छ। ठूलो विमान किन्दा नेपाल एयरलाइन्स एसीएमआई मोडलमा जानुपर्ने सुझाव रास्वपाको छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रचण्डले हवाई सुरक्षालाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। उनले युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकारले निरन्तर काम गरिरहेकोसमेत बताएका थिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !