कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्वर्गीय राजा महेन्द्र शाहको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले बिहीवारदेखि लागू हुनेगरी ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीवार एक सूचना जारी गर्दै यसको जानकारी दिएका हुन् ।
सात दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चौकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको उनले जनाएका छन् ।
‘आदेशअनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन,’ सूचनामा भनिएको छ ।
संविधान चौक क्षेत्रमा यसअघि शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरेको अभियोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला सचिवसहितका १८ जना नेता–कार्यकर्ता पक्राउ परेका थिए ।
यसपछि विवाद शुरू भएको हो । विवादबीच बिहीवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतको उपस्थितिमा राजा महेन्द्रको शालिक स्थापना गर्ने तयारी थियो ।तर कार्यक्रम शुरू हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !