काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
बिहीबार भएको मुद्दाको निर्णायक सुनुवाइ सकिएपछि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गरेका हुन्।
पूर्वगृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे १५ मंसिरमा उच्च अदालतको संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो।
त्यसपछि यसको छिनोफानो तेस्रो न्यायाधीशको इजालसमा गर्ने निर्णयअनुसार बिहीबार अन्तिम सुनुवाइ भएको हो। १५ मंसिरमा न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए। त्यही आदेशलाई कोइरालाको इजलासले पनि सदर गरिदिएको हो।
न्यायाधीश पाण्डेले खाणले प्रतिवादी अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान दिँदा अभियोग दाबीको कसुरमा पूर्णत: इन्कार रही बयान दिएको, भुटानी शरणार्थी पहिचान गर्न तयार पारिएको प्रतिवेदनको समानान्तर अर्को प्रतिवेदन कसरी तयार भयो भन्ने आफूलाई थाहा नभएको भनी व्यहोरा लेखाएको लगायत आधार देखाएका थिए।
बिहीबार खाणका कानुन व्यवसायी र सरकारी वकिलहरू दुवै पक्षले बहस गरेका थिए। सुनुवाइका क्रममा खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरे।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !