काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा आजदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । कम्पनीले प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओमा आजदेखि आवेदन दिन सकिने भएको हो ।
कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्नेछ । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । योमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।
यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा भने पुस १ गतेसम्म आवेदन दिन सकिने छ । तोकिएको सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने पुस ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !