काठमाडौं। नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएपछि चार वटा बाणिज्य बैंकले निक्षेपको ब्याज दर तल झारेका छन्। उनीहरुले मुद्दतिसँगै बचत खाताको ब्याज दर पनि घटाएका हुन्।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार(२२ गते) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको थियो।साथै नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। यो पहलले बैंकहरुले पुसमा कम्तिमा एक प्रतिशत बिन्दुले निक्षेपको ब्याज दर घटाउनु पर्ने बाध्यता छ।
मंगलबार माछापुच्छ्रे बैंकले साधारण मुद्दती निक्षेपको ब्याज दर एक प्रतिशत बिन्दुले घटाइदिएको छ। बैंकले १०.६ प्रतिशत रहेको निक्षेपको ब्याज ९.६ प्रतिशतमा झारेको हो। बचत खाताको ब्याज पनि घटाएको छ।
मौद्रिक समीक्षा आएको भोलिपल्टै कुमारी बैंकले ब्याज दरमा प्रतिकृया जनाइसकेको थियो। उसले १०.०१ प्रतिशतको ब्याजलाई घटाएर ९.६१ प्रतिशतमा झारेको छ। लगत्तै एनएमबि बैंकले ९.७६ प्रतिशतबाट ९ प्रतिशतमा ब्याज झारेको छ। एनआइसी सएसियाले पनि ८.९६ प्रतिशतको ब्याज दरलाई मंसिर २४ गते सुचना जारी गर्दै ८.६७ प्रतिशतमा झारेको हो।
नियामाकीय प्रावधान अनुसार, ब्याज दर मसान्तको दिन मात्र परिवर्तन गर्न पाइन्छ। तर राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेमा तत्कालै त्यतिबेलै परिवर्तन गर्न मिल्छ। यी बैंकले पुनस् मसान्तको दिन ब्याज पुनरावलोकन गर्न सक्छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !