बिराटनगर । भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरीसमक्ष समन्वय अगाडि बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान गर्न आग्रह गरेको जानकारी दिए ।
भारतीय सहर जोगबनी गएर फर्कंदै गरेका विराटनगर ८ मधुमाराका २८ वर्षे निर्दोष सङ्ग्रौलालाई भारतीय भूमिमा साँझ पौने ६ बजे गोली प्रहार भएको थियो । सङ्ग्रौलाको दाहिने तिघ्रामा गोलीको छर्रा लागेको र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते युवा खतरामुक्त रहेको प्रवक्ता दाहालले जानकारी दिएका हुन् ।
युवामाथि कसले किन गोली प्रहार ग र्यो भन्ने विषय अहिलेसम्म खुलिसकेको छैन ।घटना ‘भारतीय भूमिमा (दशगजा भन्दा करिब १५० मिटर पर) भएको हुँदा छानबिन र कारबाहीका लागि पीडितले भारतमै गएर जाहेरी दिनुपर्छ र उतैको प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ । घाइते अस्पतालमा उपचाररत भएका कारण प्रहरीले बयान लिएर थप विवरण बुझिसकेको छैन । तर प्रहरी स्रोतका अनुसार घाइते युवा लागुपदार्थ प्रयोगकर्ता भएको र लागुपदार्थ सेवन गरी फर्किने क्रममा भारतीय युवाहरुसँग विवाद हुँदा गोली प्रहार भएको हो । घाइते युवाले पनि आफू पूर्व लागुऔषध प्रयोगकर्ता भएको स्वीकार गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !