काठमाडौं । एकैदिन नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेको थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। आइतबार बजार १११.२० अंकले बढेर १९६३.९८ अंकमा पुगेको छ ।
नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे पछि २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। बुधबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो। आइतबार कुल ९ मिनेट मात्रै शेयर कारोबार खुल्यो जसमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।
२७ कम्पनीको सेयर मूल्य बढ्दा जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यो उपसमूहको सूचक ८.६३ प्रतिशतले उकालो लागेको छ। रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर लगायत एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !