काठमाडौं । मंसिर २४ गते, आइतबार, नेपाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भोली अर्थात मंसिर २५ गते बुकक्लोज गर्दैछन्।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
नेपाल हाइड्रो डेभलोपर्स (NHDL) ले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशतका दरले हुन आउने १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसाबराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, वित्तीय विवरण पारित गर्न लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले पुस ६ गते, गोर्खा होटल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। साे सभा बिहान ९ बजे शुरू हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !