काठमाडौं । ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि थानकोटका स्थानीयले सडक अवरूद्ध पारेका छन्।कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोटमा ठक्कर दिएको थियो।
ट्रकको ठक्करले स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको गएराति उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
उनको मृत्यु भएपछि शनिबार बिहान स्थानीयहरूले नागढुंगा सडक अवरूद्ध पारेका हुन्। खरिबोट, थानकोट र नागढुंगा चेकपोइन्टमा दर्जनौंको संख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !