काठमाडौँ । जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु हुने भएको छ । आन्तरिक विद्युत जगेडा गर्न शुक्रबार रातिबाट भारततर्फ विद्युत् निर्यात बन्द हुने भएको छ । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपियाँ आर्जन गरेको हो । प्राधिकरणले यसअवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपियाँ ७७ पैसा छ ।
चालु आर्थिक वर्ष २०८०र८१को साउनदेखि २० मङ्सिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपियाँको विद्युत् निर्यात गरिएको छ । यसअवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपियाँ ९६ पैसा छ ।
शुख्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !