काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जोखिमभार घटाएको हो।
“बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ,” राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उल्लेख छ। यसअघि ५० लाखभन्दा धेरै रकमको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो।
नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएर बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन गरेको छ। केन्द्रीय बैंकले बैंक दर ०.५ प्रतिशत विन्दुले घटाएको छ भने नीतिगत दर १ प्रतिशत विन्दुले घटाएको छ।
“विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ,” केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भनिएको छ।
अहिले बाह्य अवस्था सुधार हुँदै गइरहेको र बैंकहरुमा पनि अधिक तरलता थुप्रिएर अन्तरबैंक ब्याजदर घट्दै गएको अवस्थामा केन्द्रीय बैंकले दरहरु घटाएको हो।गत आर्थिक वर्षको तुलनामा यस वर्ष कर्जा लगानी केहि बढेको भए पनि निक्षेप संकलनको तुलनामा कर्जा विस्तार न्युन छ।
बैंकहरुमा अधिक तरलता रहेको अवस्थामा केन्द्रीय बैंकले नीतिगत ब्याजदर घटाउदा यसले बैंकहरुलाई ब्याजदर घटाउन थप प्रोत्साहन हुने छ।अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !