धनगढी । सुदूरपश्चिम महोत्सव २०८० शुक्रबारदेखि शुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा शुरु भएको महोत्सवको एक समारोहकाबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले समुदघाटन गरे । सो क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले दश बुँदे माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई दश किलोको माला लगाएका थिए ।
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालमा कैलाली महोत्सव शुरु गरेको थियो । उक्त उद्घाटन समारोहमा सुदूरपश्चिमका अत्यावश्यक २१ वटा आवश्यकताहरुको मागसहित तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई २१ किलोको माला लगाइएको थियो ।
शुक्रबार महोत्सव गरिदै आएको १७ वर्ष पुगेको छ । १७ औं संस्करणको उद्घाटनामा प्रधानमन्त्री दाहाललाई दश बुँदे मागपत्र बुझाइएको थियो । सो क्रममा अध्यक्ष कुँवरले अहिलेसम्म सरकारले दश वटा मागबारे कुनै प्रक्रिया अघि बढाउन नसकेको बताए ।
धनगढी विमानस्थल कालोपत्रे गर्न कैलाली महोत्सव–२०६३ मा ‘प्रति टिकट एक रुपैयाँ’ अभियान सञ्चालन भयो । नागरिक आफै जागरुक भएपछि नैतिक रुपमा दबाबमा परेको सरकारले विमानस्थल कालोपत्रे गर्न अग्रसरता देखायो । तर हालसम्म स्थानीय माग र आवश्यकता भएपनि धनगढी विमानस्थललाई भने प्रादेशिक अन्तराष्ट्रिय राष्ट्रिय विमानस्थल बनाउँन कुनै पहल भएको छैन ।
धनगढी विमानस्थलमात्र नभई संघले प्रदेशमा क्षेत्रीय पर्यटन केन्द्रको स्थापना गर्नुपर्ने माग पनि सो बुँदामा थियो । झण्डै १५ वर्षपछि अर्थात २०७८ सालमा तत्कालिन संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढीमा नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयको स्थापना गरे । कर्मचारीको व्यवस्थापन गरिएको भएपनि आवश्यक बजेट विनियोजन नहुँदा पर्यटन प्रवद्र्धनका कामहरु कार्यालयले अघि बढाउन सकेको छैन् ।
धनगढीमा २०६३ सालदेखि हुँदै आएको सुदूरपश्चिम महोत्सवको समुदघाटनका लागि राष्ट्रपति, प्रधानमन्त्रीदेखि पूर्व संघिय सांसदहरु तथा प्रदेशका तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथिका रुपमा सहभागि भईसकेका छन् । संघले हरेक वर्ष पुरानै मागलाई अघि बढाउँदै माग अनुसारको माला लगाउँदै आएको छ । तर, अहिलेसम्म मागको भार नघट्दा यहाँका उद्योग व्यवसायीहरु नेतृत्वप्रति निराश छन् ।
महोत्सवको समुद्घाटनमा तत्कालिन राष्ट्रपति डाक्टर रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम भट्ट्राईदेखि यस क्षेत्रको प्रतिनिधित्व गर्दै संविधान सभा सदस्य लेखराज भट्ट, भीम रावल, नारदमुनि राना लगायत प्रमुख अतिथिका रुपमा १७ देखि २१ किलोसम्मका मालाको भार बोकिसकेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !