धनगढी । कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव–२०८० सुरु हुँदैछ । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ आजदेखि महोत्सव सुरु हुने भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले समुद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन दिउसो २ बजे गर्ने अध्यक्ष कुँवरले बताए । सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिको उद्देश्यसहित सञ्चालन हुँदै आएको महोत्सवमार्फत सरकारसमक्ष विकासका विभिन्न माग प्रस्तुत हुँदै आएको छ ।
पहिलो पटक २०६३ सालमा सुदूरपश्चिमको विकासका सवाल समेटेर २१ बँुदे माग सहित महोत्सवका प्रमुख अतिथिलाई २१ किलो फूलको माला लगाइएको थियो । यस पटक १० वटा मागको प्रतिकका रूपमा प्रमुख अतिथीलाई १० किलोको माला लगाइने अध्यक्ष कुँवरले बताए । उनले कलाकारको प्रस्तुती, खानपान, रमाइलो मेला, बालउद्यान, कृषि उपज प्रर्दशनी मुख्य आर्कषण रहेको महोत्सवमा चार सय स्टल रहेको बताए ।
महोत्सव सञ्चालनमा करिब तीन करोडको लगानीमा सम्पन्न हुने महोत्सवमा करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । आयोजक संघले महोत्सवमा छ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।
कैलाली उद्योग बाणिज्य संघको आयोजनामा २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !