ढोरपाटन । डेढ दशकअगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो ।
सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ । सडक सञ्जालको पहुँच र लोकमार्ग कालोपत्र गरिएपछि हिजोआज यहाँका गाउँबाट बागलुङ बजार चार घण्टामै आउजाउ गर्न सकिन्छ । जिल्लाको सबैभन्दा टाढाका मानिने सीखोला गाउँपालिका ५ र ६ का बस्तीलाई अहिले सडकले नजिक बनाएको छ ।
पहिले निकै दुर्गम मानिने यस क्षेत्रको अहिले रुपै स्वरुप बदलिएको छ । स्थानीयको घरै अगाडिबाट दैनिक दर्जनौँ गाडी गुड्न थालेका छन् । लोकमार्ग बागलुङ हुँदै पूर्वी रुकुमसँग जोडिएपछि शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोलामा अवसर र सम्भावनाका ढोका खुलेका छन् । लोकमार्ग वरपरका खाली जग्गामा धमाधम भवन बन्न थालेका छन् भने व्यापार व्यवसाय पनि बढ्दै गएको छ । हजारौँ नागरिकले बजारको सुविधा यही पाउन थालेका छन् । पहिले एक साता हिँडेर बागलुङ आएपछि बजार देखेका अहिले आफ्नै ठाउँमा बजार बसेपछि दङ्ग छन् ।
स्थानीय ७६ वर्षीय थमबहादुर पुन मगरले ३० वर्ष अगाडि आफू पहिलोपटक बागलुङ पुग्दा साढे छ दिन लागेको सुनाउँदै अहिले बिहान गएर साँझ घर आइपुग्ने वातावरण बनेको बताए । घर जग्गा किनबेच गर्दा र नागरिकता बनाउन बागलुङ पुग्दा झण्डै एक महिना बिताउनु परेको स्मरण गर्दै आजभोलि सबै काम बुर्तिवाङमा हुन थालेको उनले सुनाए । लोकमार्गले गाउँ नजोडिँदा दैनिक उपभोग्य सामान बुटवल, पाल्पालगायत स्थानबाट बोकेर उपभोग गरेको सुनाउँदै उहाँले अहिले घरघरमा पसल खुलेपछि निकै सहज भएको बताए ।
‘विकास हुन धेरै समय लाग्दो रहेनछ, यहाँका कसैले पनि यो ठाउँमा सडक आउला र गाउँको मुहार फेरिएला भन्ने कल्पना गरेका थिएनन्, विकट ठाउँ हुँदा उही गोठालो गर्ने, खेतीपाती गरेर जीवन चलाउने गरिन्थ्यो, यस्तो मोटरबाटो थिएन,’ पुन मगरले भने, ‘उतिबेला म बागलुङ बजार जाँदा धेरै दिन लागेको थियो, अहिले चार घण्टामै पुगिन्छ, म छक्क परेको छु । हामीभन्दा अगाडिका पुस्ताले यो सुविधा पाएनन्, हामीहरुले बुढेसकालमा भए पनि हामीले पायौँ ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !