काठमाडौं । मुलुकमा अझै उच्च मूल्य वृद्धि रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले लिएको लक्ष्य भन्दा मूल्य वृद्धि बढेको केन्द्रिय बैंकले जनाएको हो ।
बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकले पेस गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा यस्तो उल्लेख छ ।गत असोजको तथ्याङ्क अनुसार देशको मूल्य ७.५ प्रतिशत छ । गत वर्षको असोजको तुलनामा १ प्रतिशतले कम भएता पनि मौद्रिक नीतिले लिएको लक्ष्यभन्दा बढी हो । मौद्रिक नीतिले ६.५ प्रतिशतको लक्ष्य लिएको थियो ।
खासगरि खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ६.८ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ । यद्यपि, आगामी दिनमा भने मूल्य वृद्धिमा सुधार आउने अपेक्षा रहेको जनाएको छ । भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा पनि सुधार आउने अपेक्षा गरेको हो ।
ब्यजादर अझै घट्ने, बढ्दो पर्यटन आगमन र रेमिट्यान्सले आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव
आर्थिक समितिको बैठकले पेस गरिएको नोटमा नेपालको आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने राष्ट्र बैंकले जनाएको छ।चालु आवमा ४ प्रतिशतदेखि ५ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने राष्ट्र बैंकको आकलन छ ।
चालु आवको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । पछिल्लो समय पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रुपमा बढेको केन्द्रिय बैंकले जनाएको छ।यस्तै, पछिल्लो समय ब्यजादर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरु गरेकाले आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशतको आकलन गरिएको राष्ट्र बैंकले जनाएको छ।
कोभिडपछि वैदेशिक रोजगारी र अध्ययनमा युवा विदेश गएकाले पनि आन्तरिक माग भने घटेको स्थिति छ । तर, पछिल्लो समय पर्यटन आगमनमा भएको सुधार, रेमिट्यान्स वृद्धि, तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएका अवस्थाले आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !