काठमाडौं । भारतबाट अवैध रुपमा ल्याइएको १६ हजार किलो चिनी सरकारले बरामद गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयुक्त अनुगमनका क्रममा दसैंतिहारको बीचमा सतुंगलबाट चिनी बरामद गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार आयातकर्ताले भन्सारबाट लिलामी भएको चिनी ल्याएको छानबिनका क्रममा बताएका छन् । ‘छानबिनका क्रममा आयातकर्ताले भन्सार कार्यालयबाट लिलामी सकारेर चिनी खरिद गरी काठमाडौं ल्याएको वयान दिएका छन्,’ उनले भने, ‘तर हामीले भन्सार कार्यालयबाट लिलामी भनिएको चिनीको कागजपत्र र आयातकर्ताले लिलामीमा सकारेको कागजपत्र र गुणस्तरको प्रतिवेदन भिडाउँदा फरक परेकाले चिनी जफत गरेका हौं ।’
चिलुवालले आपूर्तिकर्ताले उपलब्ध गराएको कागतपत्र र भन्सारले लिलामी गरेको भनिएको कागजपत्र मिलाउँदा एक(अर्कोसँग नमिलेका कारण चिनी जफ्त गरिएको बताए । उनका अनुसार आयातकर्ताले अवैध बाटोबाट १ वर्ष पुरानो चिनी भित्र्याएका हुन् ।
‘हामीले उक्त चिनीको विषयमा थप कागजात माग गरेका छौं,’ चिलुवालले भने, ‘तर थप कागजात देखाउन नसकेकाले केही छानबिनपश्चात उक्त चिनी भन्सार विभागलाई जिम्मा लगाएर लिलामी गराउने तयारीमा छौं ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !