धनगढी । धनगढी चौराह क्षेत्रमा उपमहानगरपालिकालाई अटेरी गर्दै सडकका फुटपाथमा पार्किङ र व्यापारिक गतिविधि संचालन भइरहेका छन् । धनगढी अत्तरिया छ लेन सडक खण्डमा बनाइएका फुटपाथमा ठेला,गाडा नराख्न र गाडी पाकिंग नगर्न उपमहानगरपालिकाले बारम्बार अनुरोध गर्दा समेत अटेरी गरेको पाइएको हो । पैदल यात्रु हिड्न बनाइएका फुटपाथमा जताततै मोटरसाइकल,कार ,अटो पार्किङ भइरहेका छन् । भने फुटपाथ नै बन्द हुने गरी ठेलामा तरकारी,फलफुल विक्रि गर्ने काम चलिरहेको छ । अझ ठुला लोड भरिएका ट्रकहरु समेत फुटपाथ मै राख्ने गरिएको छ ।
उपमहानगरपालिकाले बुधवार नगर प्रहरी मार्फत् माइकिङ गर्दै सडकको क्षेत्राधिकार भित्र पर्ने कुनै पनी ठाउँमा ठेला,गाडा,निर्माण सामाग्री तथा व्यापारिक परियोजना सामाग्रीहरु नराख्न आग्रह गरेको थियो । भने पटक पटक संचार माध्यम र सामाजिक संजाल मार्फत् लिखित, मौखिक तथा भिडियोको माध्यमबाट सडक क्षेत्रभित्र असर पर्ने गतिविधि संचालन नगर्न उपमहानगरले अनुरोध गदै आइरहेको छ ।
तर नगर प्रहरीले माकिगं गरेको भोलीपल्ट अर्थात् आज विहिबार पनि चौराह क्षेत्रमा पर्ने छ लेन सडकको फुटपाथमा निर्वाध रुपमा ठेलामा तरकारी,फलफुल विक्रि गर्ने काम भइरहेको पाइएको छ । भने मोटरसाइकल तथा चारपांग्रे साधन पनि मनलाग्दी पार्किङ गरेको भेटिएको छ ।
ट्राफिक प्रहरी कै आँखा अगाडी फुटपाथ मा पार्किङ र व्यापारी गतिविधी संचालन भइरहेका छन् । ट्राफिक प्रहरी सडकमा आवतजावत गर्ने सवारी साधानको विल बुक र चालकको लाइसेन्स चेक जाँचमा व्यस्त भइरहँदा पैदल यात्रीलाई भने हिड्न सकस भइरहेको छ । फुटपाथमा पाकिंग र व्यापार गर्दा पैदल यात्रीलाई हिँडडुल गर्दा चोटपटक लाग्ने, हतारमा हिँड्दा बाइक,ठेला संग ठोक्कीने समस्या भइरहेको बताइएको छ ।
धनगढीमा फलफुल विक्रि गर्दै आएका अछामका बिष्णु साउँदले आफ्नै देशमा केही गर्नु पर्यो भनेर पेट पाल्न सडकका फुटपाथमा ठेला राखेको बताए । उनले नगर प्रहरीले फुटपाथमा व्यापार नगर्नु भनेको भएपनि बाध्यताले व्यापार गर्नु परेको बताए ।
धनगढीको नास्ट कलेजमा पढ्दै आएका चक्र बहादुर बोहराले भने, फुटपाथ भनेको पैदल यात्रीहरूले हिड्ने बाटो हो । तर यहाँ बाइक तथा अटो हरु पाकिंग गरिएका छन् । भने ठेलाहरू राखेर व्यापार गरिरहेका छन् । जसले गर्दा पैदल यात्रीलाई हिड्न अप्ठयारो भइरहेको छ ।पैदल यात्री हतारमा हिँड्दा फुटपाथमा गरिएको पार्किंङ र व्यापारले दुर्घटना हुनसक्ने जोखिम रहेको छ ।
यस्तो समस्या समाधानको लागि जिम्मेवार निकायहरु उपमहानगरपालिका, ट्राफिक प्रहरीले गलत काम गर्ने विरुद्ध एक्सन लिनुपर्ने उनको भनाई छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दिपक मल्लले फुटपाथमा पार्किङ गर्नेलाई कारबाही भइरहेको बताए । उनले भने, मोटरसाइकल फुटपाथमा छोडेर चाबी लिएर जान्छन् । लामो समय सम्म चालक आउँदैनन् जसले गर्दा कारवाही गर्न गाह्रो भएको छ ।
उनले भने, अब उपमहानगरपालिकाले केही दिनमा गाडी ल्याउँदै छ । त्यसपछि नियम विपरीत पाकिंग गरिएका सवारी साधनालाई उठाएर सिधै उपमहानगरपालिकालाई बुझाउँछौ ।
उपमहानगरपालिकाले पटक पटक अनुरोध गर्दा पनि धनगढीमा सवारी चालक र ठेला व्यापारीले अटेरी गरेकाले अव कारवाहीमा उत्रिनु पर्ने अवस्था सिर्जना भएको उपमहानगरपालिकाले बताएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !