धनगढी । १७ औं संस्करणको सुदूरपश्चिम महोत्सवमा थारु गाउँको लागि छुट्टै व्यवस्था गरिएको छ । थारु जातिको बाहुल्यता रहेको कैलाली जिल्लामा मंसिर २२ गतेदेखि आयोजना हुन गइरहेको सुदुरपश्चिम महोत्सवमा पहिलो पटक महोत्सव भित्र थारु गाउँको अलग्गै व्यवस्था गरिएको हो ।
थारु गाउँ भित्र थारु समुदायका परिकार र पहिचान झल्कने गरि २३ वटा स्टलहरु राखिएका छन् । स्टलहरु भित्र घुँगी,मुसाको चटनी,अचार,ढिक्री लगायत थारु परिकार राखिने जनाइएको छ । थारु गाउँ भित्रका स्टलमा बस्दा पनि पौराणिक थारु संस्कृति झल्किने गुनियो, चोली,लेहेंगा,फरिया जस्ता पहिरन लगाएर बस्नु पर्ने बताइएको छ । थारु गाउँ भित्र प्रवेश गर्नका लागि २० रुपियाँ टिकट निर्धारण गरिएको छ ।
बाँकेबाट थारु गाउँ संचालनका लागि आएका हेमन्त चौधरीले थारु समुदायको बाहुल्यता रहेको प्रदेशमा प्रादेशिक स्तरको महोत्सव लाग्दै गर्दा थारु समुदायको पौराणिक कला संस्कृतिको इतिहासलार्ई छुट्टै पहिचानको रुपमा स्थापित गर्न उद्योग बाणिज्य संघको सहकार्यमा थारु पहिचान,पौराणिक कला,संस्कृति प्रर्दशन गर्न थारु गाउँ राखिएको बताए ।
हिजोका राजा महाराजाको पालादेखि संघियता सम्म आइपुग्दा का थारु समुदायका कला संस्कृति झल्किने सम्पुर्ण पौराणिक चिजहरु थारु गाउँमा प्रदर्शन गरिने उनको भनाई छ । थारु गाउँ भित्रका प्रदर्शनीमा विवाहमा बेहुला बेहुली चढ्ने डोला,डोली, मादल,खुट्टामा लगाउने पौवा,ढिकी,हुक्का,खोगिया,डिलिया,तुम्रा,जाल,हेल्का,भौका,गोल्रा,डोकनी,ढकिया मौनी,ढरीया,छत्री,मचिया,सुप्पा जस्ता पौराणिक थारु संस्कृति झल्किने बस्तुहरु प्रदर्शनमा राखिने बताइएको छ ।
थारु गाउँमा धोती,लेहेंगा, चोलीको पनि अलग्गै स्टल राखिएको छ । अवलोकन गर्न आउने महिला दर्शकले चोली,लेहेंगा र पुरुषले धोती,सुरुवाल लगाएर फोटो खिच्न सक्ने व्यवस्था समेत गरिएको छ ।
थारु गाउँ भित्र छुट्टै थारु कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि संचालन गरिने छ ।दिनभरी थारु क्षेत्रका प्रख्यात राष्टिय तथा स्थानीय कलाकार र गाउँ गाउँका नाच समेटि सांस्कृति कार्यक्रम गरिने जनाइएको छ ।
पछिल्लो समय थारु जातिका युवाहरुले पौराणिक कला संस्कृति ,पुर्खाले साँचेर राखेको इतिहास लाई बिर्सँदै गएको स्थीतीमा यो महोत्सवमा राखिएको थारु गाउँले सकरात्मक प्रेरणा जगाउने चौधरीले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !