धनगढी । नेपालका राजनितिक दल र तिनका नेताहरु ‘मिसन ८४’ मा व्यस्त हुदाँ सुदूरपश्चिमका गाउँहरु रित्तिन थालेका छन् । निर्वाचन सम्पन्न भएको एक बर्ष नबित्दै रास्वपा लगायत विपक्षी दलका नेताहरुले ‘मिसन ८४’भन्दै २०८४ सालको चुनाव जित्ने योजनाका साथ अभियान संचालन गरिरहेका छन् । भने सरकार एकपछि अर्को काण्ड लुकाउन र नेता कार्यकर्ता बचाउन मै व्यस्त देखिएको छ । सोही कारण देशमा रोजगारीको अवसर नभएको भन्दै सुदुरपश्चिम प्रदेशका जनताहरु रोजगारीको सिलसिलामा भारत जाँदा गाउँहरु रित्तिन थालेका हुन् ।
कैलालीको त्रिनगर नाका भएर रोजगारीको लागि भारत जानेहरुको भिड लागेको छ । बिशेष गरी दशैं तिहार लगत्तै कामको सिलसिला भारत जानेको भिड हुने गरेकोमा यसपाली भने चाडपर्व सकिएको लामो समयपछि पनि भारत जानेको भिड उस्तै देखिन्छ । सुदुरपश्चिमका लाखौं जनताहरु गुजारा चलाउन भारत जाने गर्दछन् । त्रिनगर नाकामा भारत जाने बालबालिका, युवा,युवती र बृद्धहरूको लामो लाइन देख्न सकिन्छ ।
नेपालमा रोजगारी दिन नसकेको सरकारले हरेक दिन कति नेपाली बाहिरिएका छन् । त्यसको समेत तथ्याकं राख्न सकेको छैन । त्रिनगर नाकाबाट हरेक दिन कति नेपाली भारत गए त्यसको कुनै तथ्याकं सरकार संग नरहेको जिल्ला प्रशासन कार्यलय कैलालीले जनाएको छ । चुनावको बेला खेतखेतमा पुग्ने,बिहान बेलु कै नमस्कार गर्ने नेताहरुलाई भोट बैंक खाली भएको अत्तोपत्तो छैन । हुनत चुनाव आउन अझै धेरै समय बांकी नै रहेको छ ।
नेपालको सिमाना बाट भारत प्रवेशको लागि लामो लाइनमा बस्नकु पर्ने,यात्रा गर्दा बसमा सिट नपाइने,गाली ,हेपाई खानुपर्ने जस्ता समस्याहरकु नेपालबाट भारत प्रवेश गर्नै लाग्दा देखि सुरकु हुन्छन् । देशमा रोजगारीका अवसर नहुदा हातमुख जोर्न,गुजारा चलाउन भारत जानुपर्ने नेपाली जनताको बाध्यता रहेको छ ।
बैतडी जिल्लाको सिगास गाउँपालिकाका भिम बहादुर बोहराले नेपालको नालायक सरकारको कारण विदेशीनकु परेको बताए । नेपालमा रोजगारीको कुनै अवसर नभएकाले सबै युवाहर विदेशिन बाध्य भएको उनको भनाई छ । नेपालमा रोजगारीको अवसर सिर्जना गर्न सकिने सम्भावना भएपनि नेताहरुको कारण युवाहरु वेरोजगार भएको उनको बुझाई छ ।
त्रिनगर नाकाबाट हरेक दिन जसो हजारौंको संख्यामा नेपाली जनता कामको सिलसिलामा भारत गइरहेका छन् । कयौं दुख भोग्दै भारतमा गई नेपाली जनताले काम गरेर पैसा पठाउँछन् जसले गर्दा नेपालको अर्थतन्त्र चलिरहेको छ ।
सिगास गाउँपालिकाका तिलक बहादुर थापाले नेपालमा कुनै रोजगारी नभएकाले भारत गइरहेको बताए ।उनले भने, हामी भारतमा ३० र ४० हजार तलव खान्छौ । नेपालमा हामीलाई १०र२० हजारको जागिर दिएपनि काम गर्थ्यौ । तर त्यो पनी छैन । अनि भारत नगएर के गर्ने । नेपालका झोले नेताहरुको काम नभएको उनको बुझाई छ ।
नेपालमा सम्भावना नदेखेर, फोहोरी राजनितिक देखि वाक्क दिक्क भएर नेपाल छोड्नेको भिड लागेको बताइएको छ । हरेक दिन हजारौं जनताहरु विदेशिन लाग्दा गाउँ घर भने रित्तिँदै गएका छन् । गाउँघरमा बुढापाका र बालबालिका मात्र बाँकि रहने अवस्था सिर्जना भएको छ ।
धनगढी १८ फूलबारीकी ईश्वरी बस्नेतले नेपालमा बसेर छोराछोरी पढाउन नसक्ने अवस्था भएकाले भारतको केराला जान लागेको बताइन्। केही समय पहिला चुनावमा भोट हाल्न लाइन बसेको जस्तै भारत जान नाकामा लाइनमा बसेकी बस्नेतले नेतालाई भोट हालेर केही नपाएको गुनासो गरिन् । भोट माग्ने बेलामा यो गर्छौ त्यो गर्छौ भन्दै भोट माग्छन् तर जिति सकेपछि गाउँतिर नफर्कने उनको भनाई छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !