काठमाडौँ । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा मागभन्दा डेढ गुणा धेरै आवेदन परेको छ ।कम्पनीले ३० लाख कित्ताका लागि आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन परेको हो ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कुल ३४ हजार २०६ जनाले कम्पनीको आईपीओमा आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।अंकित मूल्य १ सयमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ खुलाएको हो । वैदेशिक रोजगारमा रहेकालाई यो आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आवेदन खुला हुनेछ ।
कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन हुन लागेकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !