काठमाडौं। चोभार सुक्खा बन्दरगाह संचालनका लागि प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता सम्पन्न गरेको छ।
एकद्वार प्रणालीबाट आयात र निर्यातकर्ताहरुलाई सेवा प्रदान गर्ने तथा काठमाडौं प्रवेश गर्ने ढुवानी साधनहरुलाई व्यवस्थित गर्ने उद्देश्यले चोभार सुक्खा बन्दरगाह निर्माण भएको हो। जेभीले ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालि दर्ता गरि विकास समितिसँग सहमतिपत्रमा हस्ताक्षर गरेको हो।
सम्झौता अनुसार २०८० मंसिर २९ देखि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन सो कम्पनीले गर्नेछ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलको उपस्थितिमा निर्देशक युवक डंगोल तथा सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले सहमति पत्रमा आज हस्ताक्षर गरेका हुन्।
नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायको रुपमा रहेको छ। जसअन्तर्गत रहेका टर्मिनल (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेसन)हरुको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले पाएको थियो।
कार्यक्रममा कार्यकारी निर्देशक गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको बताएका थिए। बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा त्यसको प्रभावकारी सञ्चालन र व्यवस्थापनले सरकारलाई प्राप्त हुने राजस्वमा वृद्धि हुने उनको अपेक्षा छ।
यस्तै, सञ्चालक कम्पनीको तर्फबाट राठीले सुक्खा बन्दरगाहको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा नेपाल इन्टरमोडल यातायात विकास समिति लगायत अन्य सरकारी तथा सरोकारवाला निकायसँग सहकार्य गर्ने बताएका थिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !