काठमाडौँ । भारतको प्रमुख शेयर बजार बम्बे स्टक एक्सचेन्जको कारोबार मापक सूचकले पुनः एक पटक अल टाइम हाइको रेकर्ड बनाएको छ। सोमबारको सुरुवाती कारोबारमा सूचकले नयाँ रेकर्ड कायम गरेको हो। सुरुवाती कारोबारमा नै सेन्सेक्सले ६८,५८७.८२ अंक छोएको थियो। जुन अहिलेसम्मकै सर्वाधिक उचाइ हो। यसअघि सेनसेक्सले गएको सेप्टेम्बर १५ मा अल टाइम हाइको रेकर्ड कायम गरेको थियो। त्यस बेला सूचक ६७,९२७ सम्म उक्लिएको थियो।
उता भारतकै दोस्रो स्टक एक्सचेन्ज नेशनल स्टक एक्सचेन्जको सूचकले पनि नयाँ रेकर्ड कायम गरेको छ। सोमबार कारोबार मापक सूचक निप्टी २०,६०२.५० अंकमा उक्लिएको छ। यो नै अहिलेसम्मको सर्वाधिक उचाइ हो। यस अघि निप्टिले गत डिसेम्बर १ मा नयाँ रेकर्ड कायम गरेको थियो। त्यो दिन निप्टी २०,०७७.७५ अंकसम्म उक्लिएको थियो।सोमबार सुरुवाती कारोबारमा सेनसेक्स एक हजार र निप्टी तीन सय अंक बढेपछि नयाँ रेकर्ड बनेको हो।
पछिल्लो समय भारती शेयर बजारमा लगातार उछाल देखिन थालेको छ। खासगरी पछिल्लो समय भएको विधानसभा चुनावको नतिजाले शेयर बजार माथि गइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। विधानसभा ५ राज्यमा भएको चुनावमा ती स्थानमा बिजेपीले जित हासिल गरेको छ।
भारतमा बिजेपीलाई भारतीय शेयर बजारका लगानीकर्ताले बढी नै विश्वास गर्ने गरेका छन्। यसअघि भारतमा पहिलोपल्ट नरेन्द्र मोदीको सरकार बन्दा पनि सेनसेक्सले नयाँ रेकर्ड कायम गरेको थियो भने दोस्रो पटक प्रधानमन्त्री बने लगत्तै सेनसेक्सले अर्को रेकर्ड कायम गरेको इतिहास छ।
शेयर बजार बढ्नलाई बढेको जडिपिलाई लिइएको छ। दोस्रो त्रैमासमा भारतको जिडिपी ७.६ प्रतिशतमा उक्लिएको छ। जबकि त्यहाँको केन्द्रीय बैंक आरबिआइले गरेको अनुमान भन्दा बढी हो। आरबिआइले ६.५ प्रतिशत मात्रै हुने अनुमान गरेको थियो। उसले गरेको अनुमान भन्दा १.१ प्रतिशत बढी भएको छ। अर्को तर्फ अन्तर्राष्ट्रिय शेयर बजारमा आएको तेजीले पनि शेयर बजार बढ्न टेवा दिएको छ। अमेरिकी बजार शुक्रबार बेस्सरी बढेको थियो।
यता एसियाली बजारमा पनि बृद्धि कायम रह्यो। जसको कारण भारतीय शेयर बजार नयाँ उचाइ तर्फ लम्किरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।शेयर बजार बढे सँगै कुल बजार पूँजीकरण ४.०९ लाख करोड भारतीय रुपैयाँले बढेर ३४१.७६ लाख करोड पुगेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !