काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई चौतर्फी ‘दबाब’ परेपछि मंगलवारका लागि बोर्ड बैठक बोलाएका छन्।
गभर्नर अधिकारीले राष्ट्र बैंक सञ्चालक समिति सदस्यलाई मंगलबार साँझ बैठक बस्ने भन्दै आइतबार साँझ टेलिफोनमार्फत बिना अजेन्डा निम्तो दिएका हुन्।गभर्नर अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न दुई साता बढी ढिलाइ गरिसकेका छन्।
नीतिगतरूपमा तोकिएको समयभन्दा ढिला गरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दा गभर्नर अधिकारीको कार्यक्षमता र वित्तीय क्षेत्रको समस्या समाधानमा राष्ट्र बैंक सचेतनाप्रति प्रश्न निजी क्षेत्रसँगै अन्य सरोकारवालाले सार्वजनिकरूपमा गरिरहेका छन्।आफ्नै जिम्मेवारी पालनाका लागि ल्याइएको मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार समयसीमाभित्रै समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंक १७ दिन ढिलो भएको छ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुन ढिलाइ गर्दा अर्थतन्त्रका कुनै सूचकांकमा असर नपर्ने जवाफ गभर्नर अधिकारीले हालै एक कार्यक्रममा दिएका थिए। अर्थ नीति र वित्त नीतिको फरक पाटो प्रष्ट्याउँदै उनले समीक्षा सार्वजनिक नहुँदा पनि केही फरक नपर्ने कार्यक्रममा बताउँदा सरोकारवाला पक्षले त्यसको खण्डन गरेका थिए।
मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्नुपर्छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !