काठमाडौँ। नेपाल राष्ट्र बैंकले ८ वर्ष चलाउनको लागि ७ अर्ब रुपैयाँ ऋण उठाउन लागेको छ। केद्रीय बैंकले ‘विकास ऋणपत्र २०८८ ‘च’ ९८० वर्षे’ नामक विकास ऋणपत्र बिक्रि गरि ऋण उठाउन लागेको हो।
बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ९५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५ करोड छुट्याइएको छ।
इच्छुक लगानीकर्ताले मंसिर १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही मंसिर २० गते निष्काशन हुनेछ भने २०८८ मंसिर २० गते साँवा भुक्तानी हुनेछ।
विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !