काठमाडौँ । पछिल्लो समय सुनको भाउ लगातार बढीरहेको छ । विशेषगरी मङ्सिर लागेदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । मङ्सिर महिनाको १७ दिनमा नै सुन ७ हजार १ सय रुपैयाँले महँगीएको छ ।
कार्तिक मसान्तसम्म छापावाला सुन प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँ थियो । आज मङ्सिर १७ गते यो मूल्य बढेर एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।
मङ्सिर लागेदेखि नै सुनको भाउ बढिरहेको छ । मङ्सिर एक गते एकै दिन प्रतिताला २३ सय रुपैयाँले बढेको थियो । त्यसैगरी आज आइतबार प्रतितोला १८ सय रुपैयाँले बढेको छ । यस अघि बुधबार एकैदिन १६ सय रुपैयाँले सुन महगिंएको थियो ।
यस अघि नै जानकारहरुले सुनको भाउमा भारी बढोत्तरी हुने विश्लेषण गर्दै आएका थिए । कमोडिटीका जानकार निरव पुडासैनीले अहिले कै अवस्था रहेमा २०२४ जुन महिनाको मध्यसम्ममा सुनको भाउ एक लाख ५० हजार रुपैयाँ प्रतितोला पुग्ने विश्लेषण गर्दै आएका छन् । त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिक रत्न शाक्यले सुन प्रतितोला एक लाख ७७ हजार रुपैयाँसम्म पुग्ने दावी समेत गरेका थिए । उनले विभिन्न कारण औँल्याउदै सो विन्दुसम्म सुनको मूल्य पुग्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !